आज संविधान दिवस, मुख्यमन्त्री भट्टद्वारा शुभकामना ब्यक्त
नेपालको संविधान जारी भएको आज पाँच वर्ष पूरा भएको छ । संविधान जारी भएको मिति असोज ३ गतेलाई आज संविधान दिवसका रुपमा मानाइदैछ ।
जनताको लामो संघर्ष र बलिदानीबाट नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट निर्मित नेपालको वर्तमान संविधान २०७२ साल असोज ३ गते जारी भएको थियो ।
त्यही संविधान जारी गरेको दिनको सम्झनामा असोज ३ गतेलाई सरकारले संविधान दिवसका रुपमा मनाउदै आएको छ ।
यसै अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभकामना सन्देश जारी गरेका छन् । सन्देश जारी गर्दौ उनले नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्थासहितको संविधान जनताको पक्षमा रहेको बताएका छन्।
यो संविधानले मुलुकका सबै जाति, लिङ्ग, महिला, दलित, भाषाभाषी, मधेशी, सिमान्तकृत सबै बर्गको अधिकार सुनिश्चित गरेको भन्दै उनले सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने सङ्कल्प गरिएको उल्लेख गरेका छन् ।
जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संविधानले आत्मसात् गरेकोले कार्यान्वयनमा जोड दिएका छन् ।
कोरोना कहरका कारण यस वर्ष बिगतका जस्तो कुनै ठुलो औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।
३ असोज २०७७, शनिवार ०९:०१ बजे प्रकाशित













