सुदूर पहाडमा जात्राको रौनक, कहाँ कहिले लाग्दैछ?

धनगढी। दसैँतिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा धार्मिक जात्रा तथा मेलाको चहलपहल बढ्न थालेको छ।

कात्तिक शुक्लपक्षदेखि विभिन्न शक्तिपीठ तथा धार्मिकस्थलमा आयोजना हुने परम्परागत मेलाका कारण बैतडी, डडेल्धुरा र डोटीका गाउँबस्तीमा उत्साह छाएको छ। यसवर्ष बैतडीको मेलौली भगवती मन्दिर, डडेल्धुराको उग्रतारा भगवती मन्दिर तथा जगन्नाथ धाम र डोटीको बडिकेदारधामलगायत धार्मिकस्थलमा मेला आयोजना हुँदैछन्। यी मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट समेत हजारौँ श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।

बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने परम्परागत ‘देहिजात’ आगामी ७ र ८ मंसिरमा आयोजना हुँदैछ। जात्राका अवसरमा परम्पराअनुसार राँगाको बलि दिने चलन छ। मेलौली भगवतीको दर्शन गर्न सुदूरपश्चिमका विभिन्न जिल्लासँगै भारतका सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन्।

धार्मिक आस्थासँग जोडिएको सो जात्राले स्थानीय व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने मेलौली भगवती मन्दिर विकास समितिका अध्यक्ष जगदिशसिंह नायकले बताए।यस्तै, डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा ८ मंसिरमा देहिजात अर्थात् उग्रतारा मेला लाग्नेछ। ७ मंसिरको राति रतेडी र भोलिपल्ट ८ गते दिउँसेडी मेला आयोजना हुनेछ। अमरगढी नगरपालिका–८ मा सदरमुकामबाट करिब चार किलोमिटर दूरीमा रहेको उग्रतारा मन्दिरमा हरेक वर्ष हजारौँ दर्शनार्थी पुग्ने गर्छन्।

डडेल्धुराकै अजयमेरु गाउँपालिकास्थित प्रसिद्ध जगन्नाथ धाममा १० मंसिरमा जगन्नाथ मेला अर्थात् खोलेइ जात आयोजना हुँदैछ। ९ मंसिरमा रतेडी र १० गते दिउँसेडी मेला लाग्नेछ। मेलाका अवसरमा गुनपाल, चौडी, चिपुर र मड गाउँका भक्तजनले देउरो बोकेर जगन्नाथ मन्दिर पुग्ने परम्परा छ। स्थानीय मौलिक संस्कृति र धार्मिक आस्थासँग जोडिएको यस जात्रामा विभिन्न गाउँका भक्तजन सहभागी हुने गर्छन्।

यसैगरी, चौलो संस्कृतिका लागि प्रसिद्ध बडाल जाँत ४ मंसिरमा आयोजना हुँदैछ। गन्यापधुरा गाउँपालिकाका अनुसार ३ मंसिरको राति रतेडी तथा ४ गते दिउँसेडी मेला लाग्नेछ। लाटागन्याप देवताको भक्तिस्वरूप मनाइने यस जात्रामा स्थानीय बाजागाजा, भोक्कर र परम्परागत हतियारसहित चौलो खेल्ने गरिन्छ।

देवलका भाला, गुर्जा, खुकुरी र तरबार हातमा लिएर खेलिने चौलो बडाल जाँतको मुख्य आकर्षण हो। दाइन, दमाहा र भोक्करजस्ता परम्परागत बाजाको गुञ्जनले मेलाको रौनक थप्ने गर्छ। धार्मिक आस्था र मौलिक सांस्कृतिक परम्पराको संगमका रूपमा बडाल जाँतले छुट्टै पहिचान बनाएको छ।

उता डोटीको बडिकेदारधाममा ५ मंसिरदेखि तीन दिनसम्म धार्मिक मेला आयोजना हुँदैछ। बडिकेदार धाम विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार ५ र ६ मंसिरमा मेला सञ्चालन हुनेछ भने ६ गते विशेष केदार पूजनको कार्यक्रम राखिएको छ। मेलामा सहभागी हुने दर्शनार्थीलाई लक्षित गर्दै खानेपानी व्यवस्थापन तथा पदमार्ग सरसफाइको काम भइरहेको उनले बताएका छन्। यसवर्ष बडिकेदार मेलामा करिब ५० हजार दर्शनार्थी पुग्ने अनुमान गरिएको छ।

डोटीको बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित बडिकेदारधाममा वैकुण्ठ चतुर्दशीका दिन विशेष पूजाआजा गर्ने परम्परा छ। यहाँ दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। कैलालीको सहजपुरबाट विपिनगर, खँड्यौली बजार हुँदै अत्तरकाँडासम्म सडक सुविधा पुगेको छ। अत्तरकाँडाबाट करिब सवा एक घण्टा पैदल यात्रा गरेपछि धाम पुग्न सकिन्छ।

सुदूरपश्चिमका यी धार्मिक जात्रा तथा मेलाहरू पूजाआजामा मात्रै सीमित छैनन्। स्थानीय कला, संस्कृति, परम्परागत बाजागाजा र धार्मिक मान्यताको संरक्षण तथा पुस्तान्तरणमा समेत यस्ता मेलाको महत्वपूर्ण भूमिका छ। रोजगारी र अध्ययनका सिलसिलामा जिल्लाबाहिर रहेका स्थानीयसमेत जात्राका अवसरमा गाउँ फर्किने भएकाले आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत जुट्ने गरेको छ।


२८ कात्तिक २०८३, शनिवार १०:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु