नवलपरासीमा भएको बस दुर्घटनामा सुदूरपश्चिमका तीन जना घाइते
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ मा भएको बस दुर्घटनामा सुदूरपश्चिमका तीन जना घाइते भएका छन् । दुर्घटनामा सुदूरपश्चिमका तीनसहित १० जना घाइते भएका छन् भने छ जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट काठमाडौं जादै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा अछामको मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा र वडा नम्बर १ का २५ वर्षीय प्रेम बम घाइते भएका छन् ।
यस्तै, गोरखाका हरिशरण थापा, बर्दियाकी आकृती, बर्दियाका सञ्जय थारु, लालबहादुर कार्की, बाँकेका अस्लाम भगवान, ललितपुरका अनोज खत्री र सल्यानका अनिल बुढाथोकी पनि घाइते भएका छन् ।
मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्र परिचय खुलेको छ । बाँकी पाँच मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा बस पूर्व–पश्चिम राजमार्गबाट सडकछेउको नालामा पल्टिएको थियो । बसमा चालकसहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घाइतेहरूको उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि पठाएको जनाएको छ ।
१७ असोज २०८३, शनिवार १०:२९ बजे प्रकाशित














