सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

धनगढी । सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफर केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा २१ दिनदेखि सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्।

सिटी स्क्यान मेसिनको पार्टपुर्जा बिग्रिएपछि सेवा अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ।

प्रदेशका नौवटै जिल्लाबाट उपचारका लागि आउने बिरामीले सिटी स्क्यान सेवा नपाउँदा समस्या झेल्नुपरेको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकको उपचारको प्रमुख गन्तव्य रहेको सेती अस्पतालमा सेवा बन्द भएपछि कतिपय बिरामी अस्पतालमा महँगो शुल्क तिरेर सिटी स्क्यान गर्न बाध्य भएका छन्।
अस्पतालमा दैनिक १ हजार २ सयदेखि १ हजार ५ सयसम्म बिरामीले विभिन्न सेवा लिने गरेका छन्। सिटी स्क्यान सेवा पनि अस्पतालका महत्वपूर्ण सेवामध्ये एक हो। सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामी थप आर्थिक भार व्यहोर्न बाध्य भएका छन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठका अनुसार जीई कम्पनीसँग खरिद गरिएको सिटी स्क्यान मेसिनको पार्टपुर्जा बिग्रिएपछि सेवा सञ्चालनमा समस्या आएको हो। बिग्रिएको पार्ट नेपालमा उपलब्ध नहुने भएकाले विदेशबाट मगाउनुपरेको उनले बताए ।

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान २०७९ साल पुसदेखि सञ्चालनमा आएको अस्पतालका अनुसार दैनिक करिब २० जना बिरामीले सिटी स्क्यान सेवा लिँदै आएका थिए।

सेवा बन्द भएपछि अस्पतालमा उपचारका लागिआएका बिरामीले स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले अस्पतालमा पटक-पटक देखिँदै आएका समस्या तत्काल समाधान गर्नुपर्ने माग गरेका छन्। राजनीतिक नेतृत्वबाट अस्पतालको निरीक्षण हुने गरे पनि समस्या समाधान र निर्णयको कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेको सेवाग्राहीको गुनासो छ।

मुख्यमन्त्री खगराज भट्टले समेत सेती प्रादेशिक अस्पतालको अवस्था र समस्याबारे पटक-पटक निरीक्षण गरे पनि त्यसअनुसार सुधारको अनुभूति हुन नसकेको सेवाग्राहीको आरोप छ।

अस्पताल प्रशासनका अनुसार सिटी स्क्यान मेसिनमा आएको समस्यासँगै अस्पतात विभिन्न वार्डमा आवश्यकताअनुसार दक्ष जनशक्तिको समेत अभाव रहेको छ। अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यकताअनुसार दक्ष जनशक्ति र स्रोतसाधन उपलब्ध गराउनुपर्ने प्रशासनको माग छ।

सेवाग्राहीले भने प्रदेशकै प्रमुख रेफर अस्पतालमा सिटी स्क्यानजस्तो अत्यावश्यक सेवा लामो सम बन्द हुन नदिई गुणस्तरीय स्वास्थ्य सेवा सह सरल रूपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।


१५ असोज २०८३, बिहीवार १७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु