राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् नेपालमा जलवायु विपद्को मुद्दा

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसङ्घको महासभामा जाने सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्। उनका अनुसार महासभामा नेपालको तर्फबाट राख्ने धारणा बनाउन विभिन्न तहमा छलफल र परामर्श भइरहेको छ ।

प्रधानमन्त्री शाहको पहिलो उच्चस्तरीय विदेश भ्रमण अमेरिका हुने भएको छ । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा हुने महासभामा नेपालको प्रतिनिधित्व गर्दै उनले सम्बोधन गर्ने छन्। उनकाे सम्बोधनको खाका तयार गर्न प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालयलगायत सबै मन्त्रालय क्रियाशील छन् ।

भदौ १० गते लाङटाङ लिरुङ हिमालको ठुलो ढिक्का चट्टानसहित खसेपछि रसुवाको भोटेकोशी हुँदै नेपालमा विनाशकारी हिमबाढी प्रवेश गरेको थियो । हिमबाढीले नेपाल–चीन सीमाक्षेत्रको रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म ठुलो विनाश गरेको छ । महासभामा नेपालमा जलवायु परिवर्तनले पारेको उच्च प्रभावका कारण अहिलेको कष्टकर समयको सामना गर्नु परिरहेको विषय तथ्यसहित प्रस्तुत गर्ने प्रारम्भिक तयारी रहेको छ ।

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीस्तरको भ्रमणमा उठाउनुपर्ने मुद्दाका बारेमा नेपालभित्र र नेपालबाहिर रहेका विज्ञ तथा वैज्ञानिकसँग केही चरणको छलफल गरिसकेको छ । त्यसका लागि सरकारले हालसम्मको मानवीय तथा भौतिक क्षतिको विश्लेषण गरिरहेको छ । त्यसका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय मिलेर क्षतिको आकलनका लागि तथ्य विश्लेषणसहितको प्रतिवेदन तयार गर्न गृहकार्य भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले पनि भ्रमणको कार्यसूची बनाउने गृहकार्य थालेको छ । प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनालसमेत उच्चस्तरीय भ्रमणमा सहभागी हुुने छन्। सोही अनुसार नेपालमा उपलब्ध कूटनीतिक नियोगका प्रतिनिधिसँग नेपालले भोगिरहेको पीडा विश्वमञ्चमा उठाउनुपर्ने जलवायु न्यायको विषयमा दुई दिनअघि उनले बृहत् छलफल गरेका थिए।

उता कृषि, वन तथा पर्यावरण मन्त्रालयले जलवायुविज्ञ तथा वैज्ञानिकहरूसँग परामर्श गरेर प्रारम्भिक तयारी गरेको छ । बृहत् तयारी भने मन्त्री गीता चौधरी शनिबार स्वदेश फर्किएपछि अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । भोटेकोशी हिमबाढीले धेरै जनधनको क्षति गरेपछि विश्वको ध्यान नेपालतर्फ केन्द्रित छ । यस्तो समयमा विश्वमञ्चको बलियो आधारशीला मानिने राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री शाहले सहभागिता जनाउनुपर्ने सुझाव विज्ञसमूहले दिँदैआएको छ । यसअघि परराष्ट्रमन्त्री खनालले राष्ट्रसङ्घको महासभामा भाग लिने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो ।

महासभाको तयारी

राष्ट्रसङ्घको महासभा विश्वव्यापी सङ्गठनको मुख्य नीति निर्माण गर्ने प्रमुख अङ्ग हो । सबै सदस्य राष्ट्रलाई एकै थलोमा भेला गराएर महासभाले संयुक्त राष्ट्रसङ्घको बडापत्रले समेटेका अन्तर्राष्ट्रिय मुद्दाहरूमा बहुपक्षीय छलफल गर्न वैश्विक मञ्च प्रदान गर्दछ । जहाँ राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये प्रत्येकको समान मत हुन्छ ।

यस वर्ष हुने ८१ औँ महासभा सेप्टेम्बर ८ मा भव्य उद्घाटनको तयारी सुरु भएको छ । ज्वलन्त वैश्विक मुद्दा र हालसम्म भएका प्रगतिको समीक्षा विभिन्न सत्रमा हुने कार्यसूची तय भएको छ । जसमा नेपालको हिमबाढीले गरेको विनाश र हिमाल संरक्षणको मुद्दाले स्थान पाउने अपेक्षा गरिएको छ । उद्घाटन सत्रको नेतृत्व यस पटक दक्षिण एसियाले गर्ने भएको छ । बङ्गलादेशका विदेशमन्त्री खलिलुर रहमानले उद्घाटनको अध्यक्षता गर्ने तय भएको छ ।

सेप्टेम्बर ८ देखि सेप्टेम्बर २८ सम्म चल्ने महासभाको उद्घाटनसत्र र अन्य सत्रको तयारी तीव्र पारिएको महासभा आयोजक समितिले जनाएको छ । सेप्टेम्बर २२ देखि २६ सम्म साधारण बहस सञ्जालन हुने छ ।


२० भदौ २०८३, शनिवार १२:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु