सुदूरपश्चिममा नेकपाले मुख्यमन्त्री शाहको राजीनामा माग्ने

धनगढी।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने भएको छ।
अहिले संसदीय दलको कार्यालयमा नेकपा संसदीय दलको बैठक जारी छ। बैठकमा मुख्यमन्त्री शाहको राजीनामा माग्ने विषयमा सांसदहरू सहमत भएका छन्।
`सरकारले बहुमत गुमाइसकेको छ। अब मुख्यमन्त्रीको राजीनामा माग्ने कुरा भएको छ,´बैठकमा सहभागी एक सांसदले भने। तर, औपचारिक निर्णय हुन भने बाँकी रहेको उनले बताए।
त्यस्तै, सरकार कामचलाउ भइसकेकाले ठूला निर्णय नगर्न आग्रह गर्ने तथा नेकपाले मुख्यमन्त्रीमा दाबी गर्दै अन्य दलसँग पनि छलफल गर्ने निर्णय हुने बताइएको छ।
बैठकमा पार्टी इन्चार्ज भानुभक्त जोशी, सह-इञ्चार्ज दीर्घबहादुर सोडारी र पार्टी अध्यक्ष हरि चौधरी पनि सहभागी छन्।
केन्द्रमा काँग्रेस–एमालेबीच संघीय गठबन्धनबारे अन्तिम निष्कर्ष ननिस्किएसम्म प्रदेशमा नेकपाले दुवै दलसँग आन्तरिक छलफल गरिरहेको छ।
सुदूरपश्चिममा सबैभन्दा ठूलो दल भएकाले सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने नेकपाको अडान छ।
यहाँ नेकपाका २२ सांसद (निलम्बित सदस्य र सभामुखसहित) छन्। सबैभन्दा ठूलो दल भएको दाबी गर्दै नेकपाले अहिले काँग्रेससँग बजेट मात्र पारित गरेर अघि बढ्न नसकिने बताइसकेको छ।
सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। काँग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाशबहादुर देउवा अमेरिका छन्। एमालेका चार मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन
फिर्ता लिएको थियो, त्यसपछि मुख्यमन्त्री अल्पमतमा परेका छन्।
अहिले बजेट पारित हुने सम्भावना टर्दै गएपछि मुख्यमन्त्रीले अध्यादेशको सहारा लिने चर्चा छ।
यही बेला बसेको नेकपा संसदीय दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
३२ असार २०८३, बिहीवार १५:५५ बजे प्रकाशित































