पुनर्वासमा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि सरोकारवालासँग अन्तरक्रिया

पोषण सुधार र कुपोषण न्यूनीकरणका लागि स्थानीय सरकार, सञ्चारमाध्यम र समुदायको साझेदारी अपरिहार्य रहेकोमा जोड

कञ्चनपुर। पुनर्वास नगरपालिकामा ‘पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि सरोकारवालासँग अन्तरक्रिया तथा अनुशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रम पुनर्वास नगरपालिकाको सहयोग, मर्निङ बेल मिडिया हाउसको सहकार्य तथा भूमिराज मिडियाको आयोजनामा शुक्रबार सम्पन्न भएको हो।

कार्यक्रममा पोषण विज्ञ विकास रोकाया र रमा भट्टराईले प्रशिक्षण गर्दै बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयन कार्यविधी  ,पोषणमैत्री स्थानीय शासनको अवधारणा, स्थानीय तहको भूमिका, कुपोषण न्यूनीकरणका प्रभावकारी उपाय तथा समुदायस्तरमा पोषण सुधारका लागि अपनाउनुपर्ने रणनीतिबारे प्रशिक्षण दिएका थिए। उनीहरुले पोषणलाई स्वास्थ्यको विषय मात्र नभई समग्र सामाजिक तथा आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोया प्रसाद शर्माले पोषणमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाबीच सहकार्य र समन्वय अपरिहार्य रहेको बताए।

उनले स्थानीय सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयनलाई  उच्च प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै समुदायको सक्रिय सहभागिताले मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले पोषणसम्बन्धी नीति, स्थानीय तहको दायित्व, समुदायमा पोषण सुधारका चुनौती तथा समाधानका उपायबारे अन्तरक्रिया गरेका थिए।

आयोजकका अनुसार स्थानीय तहमा पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु, कुपोषण न्यूनीकरणमा सरोकारवालाको साझा प्रतिबद्धता विकास गर्नु तथा पोषणमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा पुनर्वास नगरपालिकाका कर्मचारी, विभिन्न वडाका वडा अध्यक्ष, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा पत्रकारसहित करिब ४० जनाको सहभागिता रहेको थियो। भुमिराज मिडिया नेपालका जनक विष्टको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको संचालन मर्निङ बेलकी रमा भट्टराईले गरेकी थिइन् ।


२० असार २०८३, शनिवार १९:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु