धनगढी उपमहानगरले ३ वर्षमा संस्थागत स्कुलमा कक्षा ११–१२ का ९१७ विद्यार्थीलाई दियो छात्रवृत्ति

धनगढी। धनगढी उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत पछिल्लो तीन वर्षमा ९१७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। आर्थिक वर्ष २०८१ देखि २०८३ सम्म ९१७ जना विद्यार्थीले यस कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्राप्त गरेका छन्।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१ मा २७६ जना, २०८२ मा २८३ जना र २०८३ मा ३५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। अघिल्ला वर्षको तुलनामा चालु आर्थिक वर्षमा छात्रवृत्ति पाउने विद्यार्थीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ।

तीन वर्षको अवधिमा विज्ञान संकायतर्फ सबैभन्दा धेरै ४७५ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन्। यस्तै व्यवस्थापन संकायतर्फ ३४३ जना, होटल व्यवस्थापनतर्फ ५२ जना, कानूनतर्फ २७ जना, शिक्षातर्फ ९ जना तथा मानविकी संकायतर्फ ३ जना विद्यार्थी लाभान्वित भएका छन्।

चालु आर्थिक वर्ष २०८३ मा मात्रै विज्ञानतर्फ १७३ जना, व्यवस्थापनतर्फ १३९ जना, होटल म्यानेजमेन्टतर्फ २६ जना, मानविकीतर्फ २ जना, शिक्षातर्फ १ जना र कानूनतर्फ १ जना गरी कुल ३५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।

यसअघिका वर्षहरूमा संस्थागत विद्यालयमा उपलब्ध छात्रवृत्ति कोटाका लागि प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमार्फत विद्यार्थी छनोट गरिँदै आएकोमा यस वर्ष भने एसइईको नतिजाका आधारमा छात्रवृत्ति प्रदान गरिएको थियो। कार्यक्रमले आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उपमहानगरपालिकाको भनाइ छ।

उपमहानगरपालिकाका अनुसार छात्रवृत्ति कार्यक्रमले उच्च माध्यमिक तहको अध्ययनमा विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै शैक्षिक अवसरको समानता कायम गर्न सहयोग पुर्‍याइरहेको छ। आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाइने जनाइएको छ।


२४ जेठ २०८३, आइतवार ११:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु