punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको बेलौरीमा हाटबजार पुनः सञ्चालन

Chaupati
safha napa

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–६ खुलामञ्च छेउमा तीन वर्षदेखि बन्द अवस्थामा रहेको हाटबजार पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

आवश्यक भौतिक संरचना निर्माण तथा मर्मत गरी नयाँ व्यवस्थापनका साथ हाटबजार सञ्चालन गर्न लागिएको हो। नगर उपप्रमुख जोगराम चौधरीका अनुसार हाटबजार सञ्चालनका लागि आवश्यक पूर्वाधार सुधारको काम तीव्र रूपमा अघि बढाइएको छ। “हाटबजारस्थलमा १२ नयाँ प्रदर्शनी कक्ष निर्माण गरिएका छन्, पुराना ११ प्रदर्शनी कक्ष मर्मत गरिएका छन्”, उनले भने, “शौचालय सरसफाइ गरी प्रयोगयोग्य बनाइएको छ भने हाटबजार परिसरमा सरसफाइ र रङरोगनको काम पनि सम्पन्न गरिएको छ।”

हाटबजारको भौतिक संरचना सुधार, नयाँ निर्माण तथा व्यवस्थापनका लागि नगरपालिकाले आठ लाख ५० हजार बजेट विनियोजन गरेको थियो भने स्थानीयको जनश्रमदानबाट एक लाख १० हजार १५७ बराबरको योगदान जुटाइएको थियो। कुल नौ लाख ६० हजार १५० को लागतमा उपभोक्ता समितिमार्फत निर्माण तथा मर्मत सम्पन्न गरिएको हो।

उपप्रमुख चौधरीका अनुसार हाटबजार एक हप्ताभित्रै सञ्चालनमा ल्याइने तयारी भइरहेको छ। “हाटबजार सञ्चालन भएपछि बेलौरी बजार क्षेत्रका १० हजारभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित हुनेछन्”, उनले भने। तीन वर्षअघि प्रभावकारी व्यवस्थापन अभावका कारण बन्द भएको हाटबजारलाई यसपटक व्यवस्थित रूपमा सञ्चालन गर्ने लक्ष्य लिइएको छ। नयाँ व्यवस्थापनसँगै दिगो रूपमा सञ्चालन गर्ने योजना बनाएको चौधरीले बताए।

हालसम्म बजार अभावका कारण स्थानीय किसानले आफ्ना उत्पादन टोकरीमा बोकेर गाउँगाउँ डुल्दै बिक्री गर्नुपर्ने बाध्यता थियो। हाटबजार सञ्चालनमा आएपछि यो समस्या हट्ने विश्वास गरिएको छ। किसानले एउटै स्थानमा आफ्ना कृषि उपज बिक्री गर्न पाउने भएपछि समय, श्रम र लागतमा कमी आउनेछ भने आम्दानीमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

“हाटबजार सञ्चालनले स्थानीय उत्पादनको बजारीकरणलाई प्रोत्साहन गर्नेछ”, स्थानीय किसान लवकुश चौधरीले भने, “तरकारी, फलफूल, माछा, मासुलगायत कृषि तथा पशुपन्छीजन्य उत्पादन सहज रूपमा बिक्रीवितरण हुने भएपछि स्थानीय अर्थतन्त्र चलायमान हुने देखिएको छ।” यससँगै भारतीय सीमावर्ती बजारमा किनमेल गर्न जाने प्रवृत्तिमा समेत कमी आउने अपेक्षा गरिएको छ। आवश्यक वस्तु आफ्नै क्षेत्रमा उपलब्ध हुने भएपछि स्थानीय बासिन्दाले बाहिरी बजारमा निर्भर रहनु नपर्ने नगरपालिकाको विश्वास छ।

बेलौरी नगरपालिकाभित्र यसअघि कलकत्ता, गोकुलपुर र बेलौरीमा हाटबजार सञ्चालनमा रहेका थिए। तीमध्ये हाल कलकत्ताको हाटबजारमात्र सञ्चालनमा रहेको छ भने गोकुलपुर र बेलौरीका हाटबजार बन्द अवस्थामा थिए। अब नगरपालिकाले ती बन्द हाटबजारलाई पुनः सञ्चालनमा ल्याएर किसानलाई सहजता प्रदान गर्ने योजना अघि बढाएको छ।


१६ वैशाख २०८३, बुधवार ०९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु