punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुर्चौंडी इलाका प्रशासन कार्यालय प्रमुखकाे जिम्मेवारी उत्तम बहादुर विष्टलाई

Chaupati
safha napa

बैतडी। बैतडी जिल्लाको पुर्चौंडीमा रहेको इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुखको अभाव अन्त्य भएको छ । लामो समयदेखि प्रमुखविहीन अवस्थामा रहेको उक्त कार्यालयमा उत्तमबहादुर विष्टलाई प्रमुखको जिम्मेवारीसहित खटाइएपछि सेवा प्रवाह पुनः सुचारु हुने अपेक्षा गरिएको छ ।

गृह मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय बैतडीमा कार्यरत नायब सुब्बा विष्टलाई इलाका प्रशासन कार्यालय पुर्चौंडीको प्रमुखका रूपमा जिम्मेवारी दिइएको हो । उहाँलाई कार्यालयमा नियमित प्रमुख हाजिर नहुँदासम्म प्रचलित कानुनबमोजिम प्रशासनिक तथा आर्थिक कारोबार सञ्चालन गर्ने अधिकारसमेत प्रदान गरिएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार विष्टले आगामी सोमबारदेखि इलाका प्रशासन कार्यालय पुर्चौंडीबाट औपचारिक रूपमा सेवा सुरु गर्नेछन् । कार्यालय प्रमुख नहुँदा अवरुद्ध भएका सेवा अब नियमित हुने उनले बताए।

इलाका प्रशासन कार्यालयमा प्रमुखको अभावका कारण गत मंसिरदेखि नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र तथा नाबालिग परिचयपत्रसम्बन्धी कार्य प्रभावित हुँदै आएका थिए । स्थानीयवासीले आधारभूत प्रशासनिक सेवाका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता भोग्दै आएका थिए ।

अब नयाँ प्रमुखको व्यवस्थासँगै ती सेवा पुनः सञ्चालनमा आउने र पुर्चौंडी क्षेत्रका नागरिकलाई सहजता हुने अपेक्षा गरिएको छ । स्थानीय तह नजिकैबाट सेवा प्राप्त हुने व्यवस्थाले समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ ।

सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थानीयस्तरमै प्रशासनिक संरचना सुदृढ गर्ने नीतिअनुरूप इलाका प्रशासन कार्यालयहरूलाई सक्रिय बनाउँदै आएको सन्दर्भमा पुर्चौंडीमा प्रमुख खटाइनु सकारात्मक रूपमा हेरिएको छ ।


१३ वैशाख २०८३, आइतवार १०:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु