फागुन २१ को निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना खुला, १ लाख ४९ हजार परिचालन हुने
धनगढी। सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने व्यवस्था गरिएको हो।
गृह मन्त्रालयका अनुसार भर्ना भएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम दिई ३० दिनसम्म कार्यस्थलमा परिचालन गरिनेछ। स्वीकृत मापदण्डअनुसार नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० जना खटाइनेछन्।
निर्वाचन प्रहरीलाई प्रहरी तथा सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाक र सेवा सुविधा उपलब्ध गराइनेछ। रासन सुविधा सम्बन्धित जिल्लाको दररेटअनुसार प्रदान गरिनेछ भने रासन, तलब र पोसाकबापतको रकम सम्बन्धित व्यक्तिको बैंक खातामै जम्मा गरिने व्यवस्था गरिएको छ।
म्यादी छनोटपछि आवत–जावत तयारी खर्चबापत प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ तथा ४ दिनको खाजा खर्च एकमुष्ट १२ सय रुपैयाँ दिइनेछ। निर्वाचनमा नियमित सुरक्षामा खटिने जनशक्तिलाई पनि समान खाजा खर्च उपलब्ध गराइनेछ।
छनोट तथा नियुक्तिका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहनेछ। १८ देखि ५४ वर्ष उमेर समूहका इच्छुकले सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरीको गण–गुल्ममा आवेदन दिन सक्नेछन्। गृह मन्त्रालयले मापदण्ड स्वीकृत गरी दुवै प्रहरी प्रधान कार्यालयमा पठाइसकेको जनाएको छ।
२२ पुस २०८२, मंगलवार १२:४१ बजे प्रकाशित













