कैलालीमा ५ लाख ५१ हजारभन्दा बढी मतदाता अद्यावधिक, सबै भन्दा बढी मतदाता क्षेत्र नम्बर ४ मा
धनगढी ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कैलाली जिल्लामा ५ लाख ५१ हजार ५२ मतदाता अद्यावधिक भएका छन्। निर्वाचन आयोगअन्तर्गत प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार जिल्लामा मतदाता संख्या उल्लेख्य रूपमा बढेको छ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिएअनुसार अद्यावधिक मतदातामध्ये २ लाख ८० हजार २ सय ४३ महिला, २ लाख ७० हजार ७ सय ९८ पुरुष तथा ११ जना अन्य मतदाता रहेका छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपटक जिल्लामा १६ हजार ७०८ मतदाता थपिएका हुन्।
उनका अनुसार विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला कैलालीमा कुल ५ लाख ३४ हजार ३४४ मतदाता रहेका थिए। मतदाता संख्या बढेसँगै निर्वाचन व्यवस्थापनलाई सहज बनाउन आवश्यक तयारीसमेत अघि बढाइएको कार्यालयले जनाएको छ।
१३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा प्रतिनिधिसभाका पाँच वटा निर्वाचन क्षेत्र रहेका छन्। तीमध्ये सबैभन्दा बढी मतदाता निर्वाचन क्षेत्र नम्बर ४ मा रहेका छन्, जहाँ १ लाख १५ हजार १४३ मतदाता सूचीकृत छन्। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ५ मा १ लाख १० हजार ५३९, क्षेत्र नम्बर ३ मा १ लाख ९ हजार १२२, क्षेत्र नम्बर १ मा १ लाख ८ हजार ४९१ र क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ७५७ मतदाता रहेका छन्।
मतदाता संख्या बढेसँगै जिल्लामा मतदान केन्द्रसमेत थप गरिएको छ। अघिल्लो निर्वाचनमा ६२९ मतदान केन्द्र रहेका कैलालीमा यसपटक ६४१ मतदान केन्द्र कायम गरिएको प्रमुख भट्टले जानकारी दिए।
१५ पुस २०८२, मंगलवार १३:५२ बजे प्रकाशित













