लम्कीचुहा नगरपालिकामा मुख्यमन्त्री शाहद्वारा सिटी हलको शिलान्यास
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–४ मा बन्ने सिटी हल, सङ्ग्रहालय लगायत अन्य संरचनाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिलान्यास गरेका छन् ।
बुधबार एक कार्यक्रमका बिच उहाँले सिटी हल, सङ्ग्रहालयको शिलान्यास गर्नुभएको हो। प्रदेश सरकारको लगानीमा बनिरहेको सिटी हल लगायतको संरचना निर्माणका लागि १३ करोड १९ लाखमा काठमाडौँको गोरखनाथ–पूर्वपश्चिम–निधि जेभीले ठेक्का पाएको छ।
सिटी हल निर्माणले सभा, सेमिनार, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम गर्न सहज हुने जनाइएको छ। शिलान्यास समारोहमा मुख्यमन्त्री शाहले विकासको सन्तुलन कायम गर्न आवश्यक रहेको बताए । सन्तुुलित बजेट निर्माणप्रति आफू चिन्तित् रहेको उल्लेख गर्दै उहाँले पहाडको विकट जिल्ला बाजुरा र बझाङमा विकासको कामलाई प्राथमिकता दिने बताए ।
मुख्यमन्त्री शाहले जनप्रतिनिधिबिच समन्वय र साझा उद्देश्य आवश्यक रहेको औंल्याउँदै सङ्ग्रहालयलाई प्रभावकारी रूपमा अगाडि बढाउन स्थानीय तह र सरोकारवाला सबै जिम्मेवार हुनु पर्नेमा जोड दिए ।
१० मंसिर २०८२, बुधवार १८:०१ बजे प्रकाशित













