बैतडीमा थपिए साढे छ सय नयाँ मतदाता

बैतडी। मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बैतडीमा साढे छ सय बढीले मतदाता नामावलीमा नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाकारी दिएको छ । गएको असोज ९ गतेदेखि बिहीबारसम्म ६ सय ५२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए । ‘मतदाता नामावलीमा नाम दर्ता गर्नेमा युवा उमेर समूहका नै बढी छन्,’ उनले भने, ‘अहिले युवाहरूमा मतदाता नामावलीमा नाम दर्ता गर्ने सोच बढेको छ ।’

अहिलेसम्म ४ सय ३८ पुरुष र २ सय १४ महिलाले मतदाता नामावलीमा नाम दर्ता गरिसकेको उनले बताए । जिल्ला निर्वाचन कार्यालय बैतडीको तथ्यांक अनुसार असोज ८ गतेसम्म बैतडीमा १८ वर्ष उमेर पूरा भएका १ लाख ५४ हजार २ सय १६ जना मतदाता रहेका छन् । जसमध्ये महिला ७६ हजार ८ सय ३४, पुरुष ७७ हजार ३ सय ८० जना र अन्य दुई जना रहेका छन् ।

गएको प्रतिनिधिसभा निर्वाचन २०७९ मा जिल्लामा १ लाख ५० हजार १ सय ५६ मतदाता रहेका थिए । सो निर्वाचनमा ७८ हजार ३ सय ६९ (५२ प्रतिशत) मत खसेको थियो । एक मात्रै सङ्गीय निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८४ वटा वडा रहेका छन् ।


२८ कात्तिक २०८२, शुक्रवार १३:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु