पशुपतिमा जलाउँदै गरेको शवको मासु बिक्री गरेको आरोपमा १ जना पक्राउ
काठमाडौंको पशुपति आर्यघाटमा जल्दै गरेको शवबाट मासु बेचेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आर्यघाटमा शव जलाउने व्यक्ति गणेश ढकाल छन् ।
प्रहरी वृत्त गौशालाका अनुसार ढकालले शव पूर्णरूपमा नजल्दै केही मासुका टुक्रा झिकेको देख्ने मलामीले प्रहरीमा उजुरी गरेपछि अनुसन्धान थालिएको हो।
प्रहरीका अनुसार ढकाल अहिले प्रहरीको नियन्त्रणमा छन्, उनले हड्डी झिकेर जोगीलाई बिक्री गरेको स्वीकार गरेका छन्, ‘तर, आफ्नो आँखा कमजोर भएकाले कसलाई बिक्री गरेको हो, त्यो ठम्याउन नसकेको बयान दिएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ का राम शाहीको शव शुक्रबार जलाउन पशुपति आर्यघाटमा लगिएको थियो । शाहीको शव ढकालले नै जलाएका थिए । ढकालले ५०० सय रुपैयाँमा हड्डी बिक्री गरेको प्रहरीलाई जानकारी गराएका छन् ।
२५ साउन २०८२, आइतवार १५:३७ बजे प्रकाशित













