बाजुरा यात्रा : आत्मीयता, मानवीयता र भरोसाको त्रिवेणी
धनगढी। केही दिनअघि म बाजुरा गएको थिएँ। मेरा लागि त्यो यात्रा केवल भूगोलको यात्रामामात्र सिमित भएन। त्यो यात्रा त आत्मीयता मानवीयता र भरोसाको त्रिवेणी बन्यो । हरेक यात्राले मानिसलाई केही न केही सिकाउँछ मलाई पनि यो पटकको बाजुरा यात्राले नयाँ अनुभव, भावना र मानवीयताको पाठ सिकाएको छ।
अपरिचित मानिसहरुले हाम्रो यात्रामा सहभागी भएर त्यो यात्रालाई यादगार अनि अविस्मरणीय कसरी बनाई दिन्छन् भन्ने कुरा मैले यो आलेखमा उल्लेख गर्ने प्रयत्न गरिरहेको छु ।
करिब ११ बजे हामी (म,रमा म्याम र ड्राइभर दाई)अछामको साँफे बगरबाट बाजुराको मार्तडीका लागि निस्कियौँ । साँफेबाट मार्तडी ४९ किलो मिटर उत्तरको यात्रामा हाम्रो गाडी गुड्न थाल्यो । पहाडको यात्रा त्यो पनि बर्खाको समय मध्य असार । मनमा थोरै डर पनि थियो बाटो भरी हामीले बर्खाको समयमा हुने जनधनको क्षतिका बिषयमा कुराकानी गर्दै गयौ ।
असारको महिना मानो रोपेर मुरी फलाउने बेला हो । सडक छेउछाउका खेतका गह्राहरुमा धान रोप्दै गरेका महिलाहरु देखिन्थे । मन त थियो एकछिन गाडी रोकेर धान रोप्दै गरेका ति महिलाहरुका कुरा सुनौ त्यो उब्जनीले कति समय खान पुग्छ भनेर सोधौं र सँगसँगै एक्छिन भएपनि माटो स्पर्श गरु धान रोपु तर हामीलाई कोल्टीसम्म पुग्नु थियो र हामी रोकिएनौँ ।
हामी करिब १ बजे तिर बाजुराको फालासैंन बजार पुग्यौँ खाना फालासैन मै खाने कि अगाडी भनेर आपसमा कुरा गर्यौ र खाना अगाडी बिरे झरना को आसपासमा खाने निर्णय गरेर हामी अगाडी बढ्यौँ ।
बिरे झरना पुग्नु अगाडि नै धेरै भोक लागेको थियो। बिरे झरना पुगेर मैले ड्राइभर दाइलाई भने ‘दाई यो भन्दा अगाडि हामीले खाना खाएका थियौ नि त्यही होटलमा खाना खाउ हैं ‘ दाइले हुन्छ भन्नुभयो। हामी खाना खाने त्यो कार्की होटलमा पुग्यौ। यो भन्दा अगाडी एकदिन मार्तडीबाट फर्किदा हामीले त्यहि होटलमा खाना खाएका थियौ ।
बुढीगंगाको माछा र लोकल चामलको भातको त्यो स्वादले तानेर नै खाना त्यही खाने योजना बनाएका थियौँ हामीले । गाडीबाट निस्किएर मैले साहुनीलाई भने ‘दिदि हामीलाई चिन्नुभयो?’ दिदिले एकपटक हामी सबैलाई हेर्नू भयो र भन्नु भयो ‘अहँ मैले त चिन्न सकिन नि’ मैले थपे केही महिना अगाडी हामी यता माछा र भात खाएर गएको थियौँ नि हामीसंग सुदुरपश्चिम प्रदेश सरकारका पुर्व आन्तरिक मामिला मन्त्री तथा पुर्व प्रदेश सभा सदस्य प्रकाश शाह हुनुहुन्थ्यो ।
त्यो दिन पनि गजबको संयोग बनेको थियो हामी मार्तडीबाट फर्किरहेका थियौँ शाह पनि मार्तडीबाट आउँदै हुनुहुँदो रहेछ र हामीसंगै गाडीमा आएका थियौ । साहुनीले अब चाहिँ हामीलाई चिन्नु भएछ फलाना पनि हुनुहुन्थ्यो हैँ तपाईंहरुसँग भन्नूभयो मैले हो दिदी भने । एक्छिन गफियौ हामी । भोक धेरै लागेकोले साहुनीलाई हामीले सोध्यौ खान छ ?दिदिले भन्नुभयो छैन । तर म बनाईदिन्छु १ घण्टा जति लाग्छ । समय लाग्छ भने भयो मार्तडीमा खाउँला भनेर हामी फर्किरहेका थियो।
फेरि साहुनी दिदीले बिरे झरना घुमेर आउनु भन्नू भयो । फर्किदा सम्म खाना बनिसक्छ भने पछि हामी बिरे झरना जाने भयौ । साहुनीले हामीलाई आउँदा माछा पनि लिएर आउन अनुरोध गर्नु भयो आफ्नो होटलमा माछा नभएको कुरा उहाँले भन्नूभयो र हुन्छ भनेर हामी तीनै जना बिरे झरना गयौँ।
बिरे झरना बाजुराको प्रसिद्ध झरना हो । बाजुरा पुग्ने मानिसहरु एकपटक बिरे झरना नपुगे बाजुराको यात्रा पुरै हुदैन भन्छन् । शनिबार प्राय यो झरना हेर्न आउनेहरुको घुइँचो नै हुन्छ रे । बिरे झरनामा हामीलाई आधा घण्टा लाग्यो त्यहाँ हामीले फोटो , भिडियो खिच्यौँ टिकटक बनायौँ । र फर्केर आउँदा बिरे झरनाका ओरालोमा आरु पाकेको देखेर म आरु टिप्न गए । आरु टिप्न त गए तर एउटा मात्र टिप्न सके तल आए पछि त्यो एउटा आरु तीन जनाले बाँडेर खायौं । 
खाना खाने होटलमा माछा थिएन हामीले माछा लैजान आसपासका होटलहरुमा सोध्यौ । माछा भने हामीले पाएनौ खाना खाने भए छ नत्र छैन भन्ने जवाफ प्राय सबै ठाउँबाट आयो तर खाना अन्तै पाकिरहेको थियो हाम्रो लागि, माछाकै लागि त पकाएको खाना कहाँ खेर फाल्ने भनेर हामी लाग्यौ ।
कार्की होटलमा पुग्दा साँच्चै खाना तयार भइसकेको थियो। साहुनीलाई माछा पाएनौ हामीले जे पाकेको छ त्यही पस्किदिनुस भन्यौ । साहुनीले कर्कलो( गाभा )र आलु मिसाएर तरकारी बनाउनु भएको रहेछ । खाना खाँदै गर्दा ड्राइभर दाइ र रमा म्यामले आज रक्षा तिमी यहि कर्कलो र आलुको तरकारी बुढीगंगाको माछा सम्झेर खाउ हैं भन्दै हाँस्दै रमाइलो गर्नु भयो किन कि मैले नै यहाँ माछा खाने भनेर नै फालासैनमा खाना नखाने भनेको थिए । साहुनीले अब अर्को पटक आउदा फोन गरेर आउनु होला म माछा बनाएर राखिदिन्छु भन्नू भयो । हामी कुरा गर्दै खाना खादै थियौँ।
त्यतिकैमा ड्राइभर दाइले मजाकमै भन्नु भयो खाना मिठो लाग्यो भन्नी बहिनीलाई त यतै राख्दिनु पर्यो साहुनी बुढीगंगाको माछा अनि जति मन लाग्छ त्यति खान्छिन् ! अनि साहुनीले हाँस्दै म राख्छु है, हेरिहाल्छु म भन्नु भयो। त्यो आत्मीयता सायद शहरको रेष्टुरेन्टमा कहिल्यै भेटिँदैन।
हामीले खाना खायौँ पैसा तिर्यौ र बडीमालिका नगरपालिका मार्तडी तिर लाग्यौ। बडीमालिका नगर पालिका जिल्ला कै सबै भन्दा पुरानो नगरपालिका हो र जिल्लाको सदरमुकाम समेत हो । प्राकृतिरुपमा सुन्दर नगरपालिका हो बडीमालिका । हामी नगरपालिका पुग्यौँ । तर नगरप्रमुख कार्यालयमा भेटिनु भएन उहाँ कार्यक्रममा हुनुहुँदो रहेछ। फोनमा कुरा गर्यौ र उहाँलाई कार्यालयमा आउन समय लाग्ने भन्ने कुरा भयो र हामी पनि समय अभावका कारण फर्कियौँ।

कोल्टी केही डकुमेन्ट पठाउनु पर्ने थियो । हामीले मार्तडी बजारमा कोल्टी जाने गाडी सोध्यौ तर कोल्टी जाने गाडी भेटेनौँ ।गाडी चालकहरुले बाहुली पारी कोल्टी जाने गाडी हुन्छन् त्यही लगेर दिनुस् यहाँबाट गाडी जान पनि सक्छ न जान पनि सक्छ भने ।
हामी बाहुली खोला वारीसम्म गाडी लगेर गयौं ।मार्तडी कोल्टी सडक खण्डको बाहुली (गाड ) खोलाले बाटो अवरुद्ध बनाएको थियो । वारीको गाडी वारी नै पारीको गाडी पारी नै हुँदा रहेछन् बर्खामा। वारीबाट पारी जान झोलुङ्गे पुल तरेर जानू पर्ने झोलुङ्गे पुल जान प्रयोग हुने बाटोका सिँडीहरु नाजुक अवस्थामा थिए मानिसहरु जोखिम मोलेर हिड्न बाध्य थिए ।
बाहुली खोलाको पुल बाढीले भत्काएको पनि बर्षौं भैसकेको थियो । त्यस्लाई बनाउन त्यहाँबाट निर्वाचित सांसदहरुले चासो नदेखाएका हुन कि जस्तो लाग्छ मलाई नत्र सदरमुकाम जोड्ने त्यो बाटो अवरुद्ध हुँदा बर्षौदेखि त्यहाँका स्थानीयहरुले सास्ती खेप्नु परिरहेको देखेर पनि त्यहाँबाट निर्वाचित सांसदहरुको मन खिन्न हुँदैन होला र ? अझ यो राष्ट्रिय गौरबको आयोजना अन्तरगत रहेको मार्तडी कोल्टी सडक हो । नाम चाहिँ सुन्दर राख्ने आयोजनाको तर कामका नाममा सिन्को नभाच्ने परम्पराको अन्त्य कहिले हुन्छ होला ? यस्तै यस्तै ख्यालहरुका बाढी आए मेरो मनमा तल बाहुली उर्लिरहेको थियो म भित्र यी प्रश्नहरुको भेल बगिरहेको थियो ।
रमा म्याम गाडीमै बस्नु भएको थियो अलिअलि पानी परिरहेको हुनाले ड्राइभर दाइ र म मात्र गएका थियौ । दुई खोला तरेर गएपछि मात्र कोल्टी जाने गाडीहरु भेटिन्थे । बाहुली खोला र अनाइ खोला अनाइमा पुल बन्दै थियो लगभग सकिने अवस्थामा रहेछ सायद केही दिनमा त्यो पुल निर्माण सम्पन्न भएर सन्चालनमा आउला ।

पानी परिरहेको थियो झोलुङ्गे पुल हल्लिरहेको थियो। पुलभन्दा डेन्जर ओलिर्ने सिँढीहरू थिए। ड्राइभर दाइको हात समातेर बाहुली खोला माथिको त्यो पुल तरेर तल बाटोमा उत्रेर दाइ र म ५/६ मिनेट जति हिड्यौँ होला सायद त्यत्तिकैमा बेस्सरी पानी पर्न थाल्यो । हातमा छाता छैन ओत लाग्नलाई नजिकै कुनै घर छैन बसे पनि भिज्ने हिडे पनि भिज्ने नै हौं भनेर दाइ र म हिड्दै थियौ ।अगाडिबाट टिप्पर आयो ।त्यो अनाइ खोलाको पुल निर्माणका सामाग्री ढुवानी गर्ने टिप्पर थियो । त्यहि टिप्परलाई दाइले रोक्न लगाउनु भयो र मलाई पारी लगिदिन आग्रह गर्नुभयो ।
टिप्पर चालक दाइले हुन्छ भन्नुभयो । ड्राइभर दाइले धेरै पानी परिरहेकोले आफू एक्लै अनइ खोला तरेर पारी गएर कोल्टी जाने गाडीमा डकुमेन्ट दिएर आउने बताउनु भयो र मलाई टिप्परमा चडेर पारी जान भन्नू भयो म पनि हुन्छ दाइ भनेर टिप्परमा आउन तयार भए ।

तयार त भए अब त्यत्रो टिप्परमा चड्ने कसरी होला अझ त्यस माथी चिन्दै नचिनेका मान्छेहरु डरले मनमा घर बनाउन थालिसकेको थियो । टिप्पर चलाउने दाइले भन्नुभयो बहिनी उताबाट घुमेर आउ । मैले भने दाई मेरो त हाइट नै पुग्दैन म कसरी माथि आउ उहाँले भन्नुभयो त्यहाँ तल खुट्टा राख्ने ठाउँ छ त्यहाँ खुट्टा राखेर आउ। मैले भने दाई मेरो चस्मा र मोबाइल समात्दिनु अनि हजुर हात दिनु म हजुरको हात समातेर माथि आउँछु भने हुन्छ भनेर एकजना अर्को दाइले हात दिनुभयो र चस्मा र मोबाइल समात्दिनु भयो अनि म टिप्परमा बसे ।
डर लागिरहेको थियो । आफ्नैको भरोसा गर्न डराउनु पर्ने समय हो यो म त चिन्दै नचिनेका मानिसहरूको संगमा यात्रा गर्दै थिए । मन मनै सोचे यो बाटोमा यस्तै बर्खामा यहाँबाट निर्वाचित सांसदहरुलाई हिडाउन पाए पो यो मार्तडी कोल्टी सडकले काँचुली फेर्थ्यो कि ।मानव विकास सुचकांकको पुछारमा रहेको बाजुरा विकट तर प्राकृतिक सुन्दरताले भरिपुर्ण छ सम्पन्न छ।
आफ्नै मान्छेहरुमा पनि शंका गर्नु पर्ने समय हो यो मलाई ती टिप्परमा रहेका अञ्जान दाइहरूले हात दिई चढाए, सुरक्षित पुर्याए। त्यो सहयोग र भरोसा कहिल्यै भुल्न सक्दिन।
भिजेको शरीर, थाकेको मन र यात्राले दिएको शिक्षा बोकेर बुढीगंगा नगरपालिका झर्यौ कपडा पुरा भिजीसकेको थियो। हामीसँग कपडा थिएन हाम्रो लगेजहरु अछामको साइनो होटलमा थियो । साँझ त्यही फर्किने योजना थियो। तर पानी परिरहेकाले बाटोमा अफ्ट्यारो हुनु भन्दा बुढीगंगा मै बस्ने बिहान अछाम फर्किने भन्ने कुरा भयो हाम्रो ।
फालासैनमा गाडी रोकेर हामीले एकएक जोड कपडा किन्यौ त्यही कपडा पसलमा कपडा चेन्ज गरेर हामी बुढीगंगा नगरपालिकाको गेस्ट हाउसतिर लाग्यौ। त्यो रात हामी गेस्ट हाउसमै बस्यौँ।
भोलिपल्ट घर फर्कियौँ।
केही दिनपछि मिडियामा खबर आयो बाहुली खोला माथिको झोलुङ्गे पुलको सिँढीमा नयाँ फलामको सिँढी बडीमालिका नगरपालिकाले जडान गर्यो । त्यो देखेर खुशीले मन भरियो।

अब त्यो बाटो भएर यात्रा गर्ने बच्चाहरू, महिलाहरूका लागि यात्रा थोरै भएपनि सजिलो हुनेछ।
२७ असार २०८२, शुक्रवार ०८:३२ बजे प्रकाशित













