२ गतेबाट मौन अवधि
काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आज सोमबारबाट निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । आजै संघ, संगठन र समूह दर्ता प्रक्रिया शुरू हुनेछ । आज दिनको ३ बजेसम्म संघसंस्था र समूह दर्ता प्रक्रिया शुरू गर्ने गरी सबै क्याम्पसमा तालिका पठाइसकेको त्रिविले जनाएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राडा पशुपति अधिकारीले सबै क्याम्पस निर्वाचन समितिले प्रक्रिया शुरू गर्ने जानकारी दिनुभयो । कार्यतालिकाअनुसार २१ गते बिहान १० बजे मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, सोही दिन दिनको ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने गरी तालिका सार्वजनिक भइसकेको छ ।
कार्यतालिकाअनुसार २६ गते मनोनयनपत्र वितरण गरेपछि २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता, २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । २९ गते दिनको १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ । कार्यतालिकाअनुसार चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ ।
त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म र त्यसपछि मौन अवधि शुरू हुनेछ । मौन अवधि शुरू भएपछि उम्मेदवारले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा उपत्यकालगायत देशैभरका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा गतिविधि बढेको छ ।
कार्यकारी परिषद् बैठकले कार्यविधि जारी गर्दै २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत्र ४ गतेदेखि स्वतः समाप्त हुने उल्लेख गरेपछि सबै क्याम्पसमा निर्वाचन प्रक्रिया शुरू हुने सम्भावना छ । स्ववियु भंग हुने त्रासले पनि विद्यार्थी संघसंगठनले निर्वाचन बिथोल्ने सम्भावना कम छ ।
कार्यविधिमा निर्धारित मितिमा कुनै कारणवस निर्वाचन स्थगित भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र कुनै मिति तोकेर तोकिएको चरणबाट अघि बढाई निर्वाचन गर्नुपर्ने व्यवस्था उल्लेख छ ।
यो वर्ष ‘दुई वर्षअघि स्थगित भएका उपत्यकाका ४ सहित उपत्यकाका बाहिरका ८ गरी १२ तथा ६२ वटा आंगिक र झण्डै ७ सय सम्बन्धन प्राप्त क्याम्पसमा एकैसाथ स्ववियु निर्वाचन गर्ने तयारी छ । दुई वर्षअघि देशभर ५० आंगिक र करिब ३ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड त्रिविसँग छैन ।
निर्वाचनअन्तर्गत जिल्लामा निर्वाचन पर्यवेक्षण गर्न नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि रहेको ३ सदस्यीय समिति गठन हुने उल्लेख छ । निर्वाचनमा कुनै पनि तहको अन्तिम समेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षाहरू दिइसकेका विद्यार्थीले मतदान गर्न पाउने छैनन् ।
निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र दाखिल गर्ने दिन २८ वर्ष नपुगेको र मतदाता सूचीमा नाम भएको विद्यार्थीले मात्र उम्मेदवारी दिन पाउने व्यवस्था छ । चैत ५ गते हुने निर्वाचनमा उम्मेदवारी दाखिला मिति फागुन २७ वा सोभन्दा पछिको जन्ममिति भएका विद्यार्थीले उम्मेदवारी दिन पाउने व्यवस्था छ ।
निर्वाचन समितिलाई १३ बुँदे निर्देशन
त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी गरेको छ ।
चैत ५ गते हुने निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । शिक्षाध्यक्षको अध्यक्षताको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन जारी गरेको हो । निर्देशनमा समितिले आवश्यकताअनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचारसंहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्नेछ ।
विशेष आवश्यकताका आधारमा अन्य समितिसमेत गठन गर्न सक्ने, संघसंगठन समूह दर्ता फारम एजेन्ट संख्या उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढाँचालगायत आवश्यक फारमहरू क्याम्पस र कलेजको निर्वाचन समितिले तयार गर्नुपर्ने उल्लेख छ ।
प्रत्यक्षतर्फ भाग लिने समूह भन्नाले मतदाता सूचीमा नाम भएका विद्यार्थीहरूमध्येबाट एक संयोजकसहित कम्तीमा ११ जना सदस्य रहेको समूह बनाउनुपर्नेछ । उक्त समूहको बैठकले त्यस्तो समूह गठन गरेको निर्णय प्रतिलिपि प्रमाणित गरी समूह दर्ता गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
स्नातक तह वार्षिक प्रणालीअन्तर्गत प्रथम वर्ष र सेमेस्टरमा माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गर्नुपर्नेछ । सेमेस्टर प्रणालीअन्तर्गत स्नातकोत्तर तह प्रथम सेमेस्टरमा माघ मसान्तसम्म भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गर्नुपर्ने छ ।
त्यसै गरी स्ववियुसम्बन्धी निर्देशिका २०८१ को दफा १३ को उपदफा ४ मा उल्लेख भएको वर्तमान स्ववियुको पदावधिसम्बन्धी व्यवस्थाको सम्बन्धमा त्रिवि शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद २ को दफा ३४८ को बुँदा (घ) आकर्षित हुने, एउटा क्याम्पसको एउटा तहको एउटा कक्षाका लागिमात्र मताधिकार हुने उल्लेख छ ।
निर्देशनमा स्ववियु निर्वाचनको दिन क्याम्पस र कलेज हाताभित्र स्वयम्सेवकको व्यवस्थालाई पूर्ण रूपमा निषेध गरिएको लगायत निर्देशन जारी गरेको छ ।
१९ फागुन २०८१, सोमवार ०६:५८ बजे प्रकाशित













