सुदूरपहाडबाट फिर्ता आएका ‘ट्रक एम्बुलेन्स’ मन्त्रालयमा थन्किए

धनगढी। सुदूरपश्चिम सरकारले सामाजिक विकास मन्त्रालयमार्फत ६ करोड २५ लाख १२ हजार रुपियाँमा १६ वटा एम्बुलेन्स खरिद गरेर अस्पतालसहित अन्य स्वास्थ्य संस्थालाई २०७६ कात्तिकमा हस्तान्तरण गरेको थियो।

स्वास्थ्य क्षेत्रमा सुधारका लागि दिइएको एम्बुलेन्स प्रयोगमा ल्याउन समस्या भएपछि मन्त्रालयमै फिर्ता पठाउन थालिएको हो। बारम्बार एम्बुलेन्स बिग्रिदा मर्मत गर्नै समस्या भएको पालिकाहरुले बताएका छन्। सुदूरपश्चिमका समाजिक विकास मन्त्री मेघराज खड्काले पहाडी जिल्लाबाट एम्बुलेन्स फिर्ता आउने क्रम जारी रहेको बताए। उनले भने, ‘एक एम्बुलेन्स हाम्रो प्राङ्गणमा छ।

मेरो जिल्लाबाट पनि फिर्ता पठाउछौ भन्दै थिए।’ सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साँघुरो बाटोमा चलाउन समस्या भएको र मर्मत खर्च धेरै आएको भन्दै बझाङको छविसपाथिभेरा गाउँपालिकाले एम्बुलेन्स फिर्ता गरेको थियो। प्रदेश सरकारले टाटा कम्पनीको ४०७ मोडेलको मिनी ट्रकलाई एम्बुलेन्स भन्दै नेपाल सरकारबाट भन्सार कर छुट गराएर खरिद गरेको थियो।

बैतडीको पञ्चेश्वर गाउँपालिका, डिलासैनी, बझाङको केदारेस्युँ, बाजुराको बुढीगङ्गा नगरपालिकास्थित टाटे स्वास्थ्य चौकी, डडेल्धुराको नवदुर्गा गाउँपालिकाले एम्बुलेन्स फिर्ता गरेका छन्। यस्तै, जिल्ला अस्पताल अछाम र डोटीले पनि एम्बुलेन्स फिर्ता गरेका छन्। मन्त्री खण्डकाले भने, ‘उहाँहरुका लागि सेतो हात्ती भयो। पालन पोषण सक्दैन भन्नु भयो। तराइमा सक्नेले लैजाने गर्नु भएको छ।’

पहाडी जिल्लाहरुबाट एम्बुलेन्स फिर्ता आउन थालेपछि समाजिक विकास मन्त्रालयले, कैलाली र कञ्चनपुरका स्थानीय तहहरुमा वितरण गर्ने गरेको छ। तर, सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स पनि थन्किएको छ। समाजिक विकास मन्त्रालय, सेती प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल, स्वास्थ्य कार्यालय, कैलाली लगायतको क्षेत्रमा ट्रक एम्बुलेन्सहरु थन्किएका छन।

 


२३ मंसिर २०८१, आइतवार १२:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु