धनगढी उपमहानगरपालिकाले थप चार स्थानीय तहमा निःशुल्क शव चिस्यान सेवा दिने

धनगढी । धनगढी उपमहानगरपालिकाले कैलाली र कञ्चनपुरका थप चार स्थानीय तहलाई पनि शव चिस्यान सेवा दिने भएको छ ।

उपमहानगरपालिकाले कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका, कञ्चनपुरको पनर्वास र कृष्णपुर नगरपालिकालाई निःशुल्क शव चिस्यान सेवा दिन भएको हो । उपमहानगरपालिकाले चार वटै स्थानीय तहमा शव चिस्यान सेवा दिनेगरि सम्झौता गरेको छ ।

चार वटै स्थानीय तहसँग बिहीबार शव चिस्यान सेवाबारे सम्झौता गरिएको उपमहानगरपालिकाले जनाएको छ । यी स्थानीय तहमा २०८२ को असार मसान्तसम्म शव चिस्यान सेवा प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

धनगढी उपमहानगरपालिकाले यसअघि छिमेकी गोदावरी नगरपालिकामा पनि निःशुल्क शव चिस्यान सेवा सञ्चालन गर्दै आएको छ । उपमहानगरपालिकाका नगर प्रहरीले शव चिस्यान यन्त्र मृतकको घरसम्म पुगाएर जडान गर्ने गरेका छन् ।

मृतकको अन्तिम संस्कार गरेपछि यन्त्र फिर्ता ल्याइने गरिन्छ । धनगढी उपमहानगरपालिकाले विदेशमा छोराछोरी र आफन्त भएको अवस्थामा कुनै व्यक्तिको मृत्यु भएका उनीहरू घर नपुग्दासम्म मृत शरीरलाई सुरक्षित राख्न शव चिस्यान सेवा सञ्चालन गरेको थियो ।


२ कात्तिक २०८१, शुक्रवार ०८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु