एकीकृत समाजवादीमा सम्मानित र वरिष्ठ नेता रहने, कति हुँदैछ पदाधिकारी संख्या ?
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
७ उपाध्यक्षमा १ महिला, १ मधेसी, अरू खुला रहने खतिवडाले बताए । उनका अनुसार सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ । अहिले सम्मानित नेतामा झलनाथ खनाल छन् ।
त्यस्तै, एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने भएको छ । योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ ।
१३ असार २०८१, बिहीवार १८:३६ बजे प्रकाशित












