सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर
काठमाडौं। काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।शुक्रबार जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो ।
अदालतले लामिछानेलाई कति समय जेल सजाय गर्ने भन्ने निर्णय भने गरेको छैन । उक्त निर्णय अर्को पेशीमा अदालतले गर्नेछ । इजलासले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर सन्दीपले बलात्कार गरेको ठहर गरेको छ । दोषी लामिछानेको सजाय पुस २५ गतेको पेसीबाट निर्धारण हुनेछ । अदालतले किशोरी नाबालिग नरहेको ठहर गरेको छ।
अघिल्लो वर्ष भदौ ५ गते सन्दीपले गौशालाको एक होटलमा लगेर बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेका थिए । यो मुद्दामा आइतबारदेखि निरन्तर बहस भएको थियो ।
लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो । प्रहरीले भदौ २२ गते मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
१३ पुस २०८०, शुक्रवार २३:५४ बजे प्रकाशित













