सुजन,जो ब्रेन ट्युमरले बुबा बितेपछि ऋण तिर्न कोरिया जाने तयारीमा थिए

दैलेखको महाबु गाउँपालिका–६ का २१ वर्षीय सुजन राउत परिवारको  जिम्मेवारी पूरा गर्न रोजगारीका लागि कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिने तयारीमा थिए तर, उनको कोरिया जाने सपना शुक्रबार बालकुमारीमा भएको आन्दोलनमा टुट्यो । अर्थात् उनी यो संसारबाट बिदा भए ।

सुजनले गत वर्ष मात्र ‘ब्रेन ट्युमर’का कारण बुबा गुमाएका थिए । उनी बुबाको उपचारमा लागेको ऋण तिर्नका लागि भन्दै कोरिया जाने तयारीमा थिए । तर, शुक्रबार  भएको आन्दोलनमा उनी प्रहरीको निर्घात कुटपिटबाट सडकमै ढले ।

घाइते अवस्थामा रहेका सुजनलाई उपचारका लागि किष्ट अस्पतालमा लगियो । तर, त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरे । सुरुमा प्रहरीको गोली लागेर मृत्यु भएको भनिए पनि प्रहरीको निर्घात कुटपिटबाट मृत्यु भएको उनका दाजु (मामाका छोरा) रोशन कटुवालको भनाइ छ ।

सुजन शुक्रबार आन्दोलनमा नभइ त्यहाँको अवस्था हेर्नका लागि त्यहाँ पुगेको रोशनको भनाइ छ । उनका अनुसार सुजनको घर महाबु भए पनि उनको सम्पूर्ण परिवार दैलेख सदरमुकाममा बस्छन् ।

उद्योग वाणिज्य संघ दैलेखका पूर्वउपाध्यक्षसमेत रहेका उनका बुवाले लामो समयदेखि सदरमुकाममा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए ।

उनी बिरामी भएपछि व्यवसाय पनि कमजोर हुँदै गयो । धेरै सम्पत्ति उपचारमै खर्च भयो । उपचारका लागि राउत परिवारले लाखौँ रकम ऋण पनि काढेको थियो । तर, बुवा बचेनन् ।

उपचारकै क्रममा ०७९ मङ्सिरमा उनको मृत्यु भयो । बुबाको मृत्यु र व्यवसाय पनि संकटमा भएकाले सबै जिम्मेवारी काँधमा बोकेका सुजनलाई कोरिया जानुपर्ने बाध्यता बनेको दाइ रोशनको भनाइ छ ।

उनका अनुसार सुजन निकै मेहनती र इमानदार थिए । यसअघि सुजन नेपालगन्ज बसेर ओभरसियर पढ्थे । अन्तिम सेमिस्टरमा एउटा विषय बाँकी थियो । बुबाको मृत्यु भएपछि उनले पढाइ पनि पूरा गर्न पाएका थिएनन् ।

यस्तै, शुक्रबारको आन्दोलका क्रममा प्रहरीले अन्धाधुन्ध लाठी चार्ज र गोली प्रहार गर्दा अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको छ । आन्दोलनकारी युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि वातावरण तनावपूर्ण बनेपछि प्रहरीले लाठी चार्ज र गोली प्रहार गरेको थियो ।


१४ पुस २०८०, शनिवार ००:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु