प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै
फाइल फोटो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदैछन् । इटलीको ४ दिने भ्रमण सकाएर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन्।
उनी कतार एअरलाइन्सको विमानमार्फत विहान १० बजे त्रिभुवन विमानस्थल अवरण गर्ने छन्।
प्रधानमन्त्री प्रचण्ड युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन साउन ६ गते साँझ इटली गएका थिए। त्यहाँ उनले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए।
रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा कृषि र जलविद्युत्का क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो। भेटका क्रममा उनीहरूबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्डसँगै कृषिमन्त्री बेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी पनि आज स्वदेश फर्कने छन्।
विमानस्थल अवतरण भएपछि प्रधानमन्त्रीले पत्रकारहरूसँग साक्षात्कार गर्ने कार्यक्रम छ।
१२ साउन २०८०, शुक्रवार ०७:५५ बजे प्रकाशित













