प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धकाे उजुरीमाथि आज छलफल हुँदै
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा दर्ता भएको उजुरीमाथि बुधबार छलफल हुँदैछ।
समितिले कार्कीविरुद्ध उजुरी दिन दिएको १० दिने अवधिमा दर्ता भएका २९ वटा उजुरीमाथि आज छलफल हुन लागेको हो।
समितिले आज सबै उजुरीकर्तासँग छलफल गर्ने र भाेलि सुनुवाइ गर्ने तयारी गरेकाे जनाइएको छ।
कार्कीविरुद्ध वहालवाला न्यायाधीश, कानुन व्यवसायीहरुले नै उजुरी दिएका छन्।
आज उजुरीबारे प्रारम्भिक छलफलपछि समितिले उजुरीकर्तालाई बोलाउनेछ। उजुरीकर्ताको कुरा सुनेपछि कार्कीको कुरा सुन्ने समितिको तयारी छ। कार्कीको बयान लिएपछि मात्रै उनको सिफारिस सदर गर्ने या बदर गर्ने भन्नेबारे समितिले निर्णय लिने छ।
समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
सर्वोच्च अदालत झण्डै डेढ वर्षदेखि कामुको भरमा चलिरहेको छ।
३१ जेठ २०८०, बुधवार १२:०७ बजे प्रकाशित













