राष्ट्रिय युवा संघ कैलालीको जिल्ला अधिवेशन आज, लेखराज भट्टले उद्घाटन गर्ने
कैलाली । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल कैलालीको जिल्ला अधिवेशन आज हुने भएको छ। कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा हुन लागेको नवौँ अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।
अधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको राष्ट्रिय युवा संघ कैलालीका इन्चार्ज अरुण कुवरले जानकारी दिए । उनले अधिवेशन उद्घाटन गर्न एमालेका नेताहरू कैलाली पुगिसकेको बताए ।
आज ११ बजे सुखड बजारको हेलिप्याडमा एमाले केन्द्रीय सचिव लेखराज भट्टले अधिवेशनको उद्घाटन गर्ने छन् । कार्यक्रममा विशिष्ट अतिथि एमाले पोलिट व्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत रहने छन् ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण बस्नेत, पूर्व केन्द्रीय अध्यक्षहरू तथा पार्टीका नेताहरू पनि अधिवेशनका लागि आइसकेका छन् ।
कैलाली जिल्ला अधिवेशन सुदूरपश्चिमकै भव्य अधिवेशन बनाउने तयारी भइरहेको इन्चार्ज कुवरले जानकारी दिए ।
‘हामी सबै भव्य रुपमा सम्पन्न गर्न लागिरहेका छौँ केन्द्रीय नेताहरू पनि पुगिसक्नु भएको छ’ उनले भने ‘कैलालीको अधिवेशन नेपालकै भव्य अधिवेशनहरू मध्ये बनाउने तयारीमा छौ ।’
१७ चैत २०७९, शुक्रवार ०६:३८ बजे प्रकाशित































