punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा, कति छन् बाघ ?

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघको प्रमुख बासस्थानका रूपमा प्रख्यात रहेको छ। पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ रहेका छन्।

विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात हुन थालेको छ। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थान लगायतले गर्दा बाघको संख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जभन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए। “शुक्लाफाँटा बाघको राम्रो बासस्थान बनेको छ”, उनले भने, “यहाँ बाघको आहाराका प्रजाति धेरै हुनुले पनि बाघको संख्या बढेको हो।”

उनले शुक्लाफाँटाभित्र रहेको ठूलो घाँसेमैदान, तालतलैया र बाघका लागि प्रशस्त आहारा प्रजाति रहेको बताए। शुक्लाफाँटामा बाघको प्रमुख आहारा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन्। “निकुञ्जभित्र प्राकृतिक ताल र तीन ठूला नदी छन्”, सहायक संरक्षण अधिकृत ऐरले भने, “योबाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ, त्यसले गर्दा वन्यजन्तुलाई प्यास मेटाउन सहज भएको छ।”

निकुञ्ज क्षेत्रमा चौधर नदी, स्याली नदी र महाकाली नदी छन्। चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख नदी रहेको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिको पनि संरक्षणले चोरीसिकारी शून्य भएका कारण पनि बाघको संख्यामा वृद्धि भएको हो।

सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको यस निकुञ्जमा २०२२ को गणनामा संख्या ३६ पुगेको हो। निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ।

 


२ चैत २०७९, बिहीवार ०६:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु