धनगढीको वडा नम्बर १७ ‘आँप गाउँ’, थालियो अभियान
धनगढी, असार २५ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १७ लाई ‘आँप गाउँ’को पहिचान दिनका लागि अभियान थालिएको छ । उप–महानगरपालिकाले एक गाउँ एक उत्पादन भन्ने नीति लिए अनुरुप वडा नम्बर १७ लाई आँ गाउँका रुपमा परिचत गराउन लागिएको हो ।
अभियानअन्र्तगत वडा नम्बर १७ का धुर्जन्ना, पथरी, डमौलियाका प्रत्येक घरमा अनिवार्य रुपमा दुईवटा बिरुवा लगाउन थालिएको छ । उप–महानगरपालिकाले दुई वटा आँपका बिरुवा निःशुल्क उपलब्ध गराएको छ भने घर धनीले अनिवार्य रुपमा दुईवटा बिरुवा लगाउनु पर्ने ब्यवस्था गरिएको छ ।

धनगढीका नगरप्रमुख नृपबहादुर वडले वडा नं १७ अन्य वडाको तुलनामा पछाडि परेकाले विकास निर्माणका काममा प्राथमिकतामा पारिएको बताए । उनले वडा नं १७ कृषिका साथै फलफुल खेतीका लागि सम्भाब्य ठाउँ भएकाले आँपको गाउँको रुपमा विकास गर्न थालिएको बताए ।
नगरप्रमुख वडले विहीबार मात्रै वडामै पुगेर स्थानीयको बारीमा आफै आँप रोप्न अभियानमा सहयोग गर्नुभएको छ । उनले आफू निर्वाचित भएर आउने वित्तिकै ‘भोट बराबर बोट’, र नगरको ‘जनसंख्या बराबर बोट’को अभियान सुरु गरेको बताए ।
वडा नं १७ का अध्यक्ष माधवराज रानाले नगर प्रमुख वडको पहलमा आँप गाउँ अभियान अन्तर्गत दुई हजार ९ सयको हाराहारीमा आँपको बिरुवा वडाबासीलाई उपलब्ध गराइसकिएको बताए । धनगढी उप–महानगरपालिका आरयूडिपीको सहयोग र विकासका लागि यूवा ऐक्यवद्धताको साझेदारीमा आँपको बिरुवा उपलब्ध गराएको संस्थाका अध्यक्ष बिनय लामाले बताए ।

त्यसैगरी धनगढी उप–महानगरपालिका ७ मा रहेको सृजना स्मृति पार्कमा पनि नगरप्रमुख वडको उपस्थितिमा बृक्षारोपण गरिएको छ ।
२५ असार २०७७, बिहीवार ११:१९ बजे प्रकाशित































