धनगढीमा रेडियो दिवस मनाइयो
व्यवसायीक रेडियोहरूको छाता सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा रेडियो दिवस मनाइएको छ ।
बानकी प्रदेश अध्यक्ष अमिता कुँवरको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम आर्थिक मामिला मन्त्री नरेश शाही र विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्लो समय रेडियो सञ्चालन व्यवस्थापनमा चुनौती थपिँदै जाँदा रेडियोमा आश्रित पत्रकारहरू पलायन हुन थालेको भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन थालिएको छ । नेपालमा भने विक्रम संवत् २००३ सालदेखि रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मङ्सिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालनमा ल्याइएको थियो । २०५२ सालदेखि एफएम प्रसारण सुरु भएको थियो ।
रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ, तर कोरोना महामारीपछि विश्वमा देखिएको आर्थिक सङ्कटको असर रेडियोमा पनि परेको छ ।
१ फागुन २०७९, सोमवार १८:०७ बजे प्रकाशित






























