सुदूरपश्चिम :कांग्रेसले मुख्यमन्त्रीको अफर गरेको नागरिक उन्मुक्ति एमालेसँगै उभिन तयार
धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन भत्काउन नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीको आश्वासन दिएको छ । प्रदेशमा निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको आश्वासन बोकेर संसदीय दलका नेता कमल शाह डिल्लीबजार स्थित कारागार पुगेका थिए । उनले त्यहाँ मुख्यमन्त्री दिन आफूहरू तयार रहेको बताएका थिए ।
अवस्था यस्तो छ कि सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ ।
नागरिक उन्मुक्तिले केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकालाई समर्थन गरेको छ । तर, रेशम चौधरीलाई रिहा गर्ने विषयमा गठबन्धन सकारात्मक नदेखिएपछि प्रचण्डलाई विश्वासको मत दिने र नदिनेबारे उसले निर्णय गरिसकेको छैन । अर्कोतिर सोमबारदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा नागरिक उन्मुक्ति प्रतिपक्षी दलको बेन्चमा बसेको छ ।
नागरिक उन्मुक्तिले रेसमको रिहाइलाई प्रमुख मागका रूपमा अघि सारेको छ । सँगै उसले सुदूरपश्चिमको नेतृत्वमा पनि दाबी गरिरहेको छ । तर, सत्ता गठबन्धनले सुदूरपश्चिमको पहिलो कार्यकाल एमाले र दोस्रो कार्यकाल माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ । नागरिक उन्मुक्तिलाई उपसभामुख दिने निर्णय त भएको छ तर यसबारे उसले कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
अहिले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ । सुदूरपश्चिममा पुस २७ गते साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ ।
प्रदेश सरकारको नेतृत्वको दौडमा रहेका एमाले संसदीय दलका नेता राजेन्द्र रावल भने अहिलेका सत्ता गठबन्धनमा रहेका सबै दलहरूबिच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको बताउँछन् ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा ९एकीकृत समाजवादी०का चार, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद छन् ।
नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको आश्वासन लिए पनि नागरिक उन्मुक्ति पार्टी भने सत्ता गठबन्धनसँगै हुने सङ्केत दिएको छ । अहिले सम्म निर्णय नभए पनि सांसदहरू केन्द्रका भएको सहमति प्रदेशमा तोड्न नहुने बताइरहेका छन् ।
यस बिषयमा नगरि उन्मुक्तिले आज आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन् ।
२६ पुस २०७९, मंगलवार ०७:१९ बजे प्रकाशित































