punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजबाट स्वस्थानी व्रत सुरु

Chaupati
safha napa

आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।

स्वस्थानी कथा अनुसार स्वस्थानी व्रत सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा व्रत सुरु भएको धार्मिक मान्यता छ ।

स्वस्थानी व्रत सुरु भएको दिन आजदेखि पनौतीको सालीनदीमा मेलासमेत लाग्ने गर्दछ । सालीनदीको पानीले नुहाएमा विभिन्न रोग नष्ट हुने, रोग लागेकाको रोग निको हुने र शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने धार्मिक आस्था र विश्वास छ ।

पार्वतीले एक महिनासम्म व्रतस्वरुप भगवान शिवसँग विवाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागतरुपमा सोही व्रतकथा चल्दै आएको मानिन्छ ।

स्वस्थानीलाई माधव नारायण भन्नुको विभिन्न कारण छन् । १२ महिनामा नारायण विष्णु भगवानले विभिन्न रूप लिनु हुने मान्यता छ ।

जसअनुसार बैशाखमा मधुसुदन नारायण, जेठमा त्रिविक्रम नारायण, आषाढमा वामन नारायण, श्रावणमा श्रीधर नारायण, भाद्रमा ऋषिकेश नारायण, असोजमा पद्मनारायण, कार्तिकमा दामोदर नारायण, मंसिरमा केशव नारायण, पौष महिनामा नारायण, माघमा माधव नारायण, फाल्गुणमा गोविन्द नारायण र चैत्र महिनामा विष्णुरूप लिनुहुने हुँदा माघ महिनामा नारायणको नाम माधव हुने भएकाले माधव नारायणको नामले माघ महिनाभर पुज्ने परम्परा चल्दै आएको हो ।

सुस्वास्थ्य, शान्ति र शिवजस्तो स्वामी र पुत्रलाभको कामना गर्दै शालीनदीमा महिलाहरु व्रत बस्ने परम्परा पुरानो हो । पहिले पहिले नेवार समुदायका महिलामा मात्र प्रचलन रहेको यो व्रत अचेल विभिन्न समुदायका महिला र पुरुषसमेतले व्रत लिने गरेको पाइन्छ ।

अलिनो खाना खानुपर्ने परम्परा

चिसो मौसममा दैनिकरूपमा पवित्र शालिनदीमा स्नान गरी एक महिनासम्म कथा सुनेर ब्रत बसिने स्वस्थानी वा माधव नारायणप्रति नेपालीहरुको विशेष लगाव र विश्वास छ । यहाँ बस्ने व्रतालुले एक महिनासम्म नुन खान मिल्दैन ।

दैनिकरुपमा नित्यपूजा, जप, तप, ध्यान, स्वस्थानी श्रवण गरी सूर्यपूजा, शिव पार्वतीसहित सम्पूर्ण देवीदेवताको पूजा अर्चना गरी साँखु नगरभित्र एकसय आठ स्थानमा अष्टाङ्ग प्रमाण, सहस्र जलधारा अर्पण गर्ने र बेलुकी भएपछि कोठामा गई अलिनो खाना खानुपर्ने परम्परा छ । यस व्रत अवधिमा माछा, मासु, अण्डा, दाल, लसून, प्याज, साग, नून, तेल खान र प्रयोग गर्न पाइदैन ।

व्रतालुहरु विभिन्न तिथि मिलाएर खाली खुट्टा पहिला साँखुको ब्रजयोगिनी मन्दिर, पशुपति मन्दिर, फर्पिङ शेषनारायाण, पनौती मन्दिर हुँदै अन्तिममा चाँगुनारायण मन्दिर जाने परम्परा छ ।

यस्तै, एक महिनासम्म सबै व्रतालुले माधवनारायण मूर्ती बोकेर तिथि अनुसार परदेश हिँड्नुपर्ने हुन्छ । यात्रामा सामान्य बिरामी भए शंखको पानी खाने, घाउचोट भए चन्दन घोटेर लगाउने चलन चल्दै आएको छ ।

व्रत अवधिभर बिहान माघस्नान गरी मध्याह्नमा श्रीमहादेवको पूजा आराधना र अघ्र्य दिने चलन छ । त्यस्तै, बेलुका प्रत्येक दिन स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार–अगस्त्य संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने–सुनाउने चलन छ ।


२२ पुस २०७९, शुक्रवार ०७:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु