कञ्चनपुरमा सीमास्तम्भ मर्मत सम्भार हुँदै
कञ्चनपुरमा नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत अघि बढाइएको छ। भारतीय सीमा सुरक्षाबल ९एसएसबी० को ५७ औं बटालियनले सशस्त्र प्रहरी बल नेपालको समन्वयमा जीर्ण रहेका सीमा स्तम्भ मर्मत सम्भार अघि बढाएको हो। भारतीय पक्षले जोर नम्बरका २४ वटा जीर्ण सीमास्तम्भ मर्मत गरिरहेको छ।
नेपाल–भारत संयुक्त सीमा बैठकको निर्णयअनुसार नेपालले बिजोर र भारतीयले जोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने निर्णय गरिएबमोजिम एक सातादेखि सीमा स्तम्भ मर्मत भइरहेको छ।
सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरका अनुसार बिओपी कञ्जभोज अन्तर्गत पर्ने सीमास्तम्भ नं ७९८, ७९६र१, ७९६र२,७९६र३ र बिओपी देवीस्थान अन्तर्गत पर्ने सीमास्तम्भ नं ८००, ८००र१, ८००र२, ८००र३ भारतीय एसएसबीले मर्मत गरेका छन्।
बिओपी भूमिराज अन्तर्गत पर्ने सीमा स्तम्भ नं ८०२, ८०२र१,८०२र२, बिओपी गड्डाचौकी अन्तर्गत पर्ने सीमास्तम्भ नं ८०६,८०६र१,८०६र४,८०६र५,८०६र६,८०६र२, बिओपी जिमुवा अन्तर्गत पर्ने सीमास्तम्भ नं ८०८,८०८र१, बिओपी ब्रह्मदेव अन्तर्गत पर्ने सीमास्तम्भ नं ८१२र१,८१०र१, ८१०, ८१२ र बिओपी बयलबन्दा अन्तर्गत पर्ने सीमास्तम्भ नं ८०४ को मर्मतको कार्य जारी रहेको छ।
नेपाली पक्षले दुई वर्षअघि बिजोर नम्बरका सीमास्तम्भ मर्मतको कार्य गरेको थियो। नेपाली पक्षले पुनर्वास नगरपालिका ११ डोके बजारदेखि बेलौरीसम्मका बिजोर नम्बरका जीर्ण सीमास्तम्भ मर्मत गरेको थियो।
‘ढलेका, हराएका, नदीले बगाएका र विवादित क्षेत्रका सीमास्तम्भबारे दुवै देशको सर्भे टोलीको निर्णयअनुसार मर्मत र पुनःनिर्माण हुनेछ’, सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘विवादित क्षेत्रका सीमास्तम्भ भारतीय पक्षलाई मर्मत लगायतका कुनै पनि काम नगर्न भनेका छौँ।’
विवादरहित क्षेत्रका सीमास्तम्भ मात्रै भारतीय पक्षले मर्मत गरिरहेको उनले बताए। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सीमा बैठकमा सीमास्तम्भ मर्मत गर्ने सहमति भए अनुसार भारतीय पक्षले मर्मत गरिरहेको बताए।
‘यसअघि बिजोर नम्बरका सीमास्तम्भ हामीले मर्मत गर्यौँ’, उनले भने, ‘योपटक भारतीय पक्षले जोर नम्बरका सीमास्तम्भ मर्मत गरिरहेका छन्। हामीले समन्वय गरिहेका छौँ।’ नियमित प्रक्रियाअन्तर्गत सीमास्तम्भ मर्मत सम्भार भइरहेको उनको भनाइ छ।
कञ्चनपुरमा ६४ मुख्य, २२२ सहायक, १०४ साना सीमास्तम्भ रहेका छन्। डोके बजारदेखि ब्रह्मदेवको खल्ला मुसेट्टीसम्मको १२९।५ किलोमिटर भारतसँगको सीमा क्षेत्र पर्छ।
८ पुस २०७९, शुक्रवार २०:१६ बजे प्रकाशित































