कैलालीमा हँसियाले हानेर सालाको हत्या गर्ने भिनाजुले आत्मसमर्पण गरे
कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले ढुङ्गाना आफैँ इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएको पुष्टि गरे ।
ढुङ्गानाले मंगलबार जोशीपुर गाउँपालिका ६ कुमारीबागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । भण्डारी र ढुङ्गानाबिच साला–भिनाजुको नाता पर्दछ ।
उनको हँसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय अर्का साला जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
२२ मंसिर २०७९, बिहीवार ०८:५८ बजे प्रकाशित































