कैलालीको चौमाला बजारमा भएको आगलागीबाट एक करोड बढीको क्षति
कैलालीको चौमाला बजारमा शनिबार साँझ भएको आगलागीबाट एक करोड बढीको क्षति भएको छ । गौरीगङ्गा नगरपालिका १ चौमाला बजारमा भएको आगलागीबाट एक करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
चौमाला स्थित हिमाल मोबाइल ग्यालरीमा विद्युत् लाइन सर्ट भएर आगो लागेको थियो । उक्त आगलागीबाट ६ पसलमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
डिएसपी जोशीका अनुसार छविलाल खनालको हार्डवेयर पसलमा ३५ लाख र टंक प्रसाद आचार्यको सुज सेन्टरको ३० लाख सम्मको क्षति भएको छ । यस्तै जय सिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल ग्यालरीमा १० लाख, हिमाल पुन मगरको मोबाइल ग्यालरीमा १२ लाख र विष्णु कुमार पाण्डेको लुम्बिनी होटेलमा १ लाख ५० हजार सम्मको क्षति भएको छ ।
प्रहरी, म्यादि प्रहरी, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
१३ कात्तिक २०७९, आइतवार १३:४६ बजे प्रकाशित































