सेवा सुविधाको रकमले असहायलाई पोशाक
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सेवा सुविधावाफत प्राप्त हुने तीन महिनाको रकम बालबालिकाको पोशाकमा खर्चने घोषणा गरे । उनले साउन, भदौ, असोज र पर्व खर्चवाफत प्राप्त हुने दुई लाख ६७ हजार आठ सय रुपियाँ असहाय बालबालिकाको पोशाकमा खर्चने बताए ।
मेयरले पाउने कुनै पनि सेवा सुविधा आफूले नलिने घोषणा गर्नु भएका उनले दशैंको अवसर पारेर धनगढीको विभिन्न विद्यालयमा अध्ययनरतसहित सामाजिक संस्थामा आश्रित गरेर २६९ जनालाई पोशाक किनिदिने बताए ।
मेयर हमालले दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १०५ जना विद्यार्थी, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपाङ्ग समाजका पाँच जना र पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिबिहीन विद्यार्थीलाई पोशाक किनिदिने बताउनु भएको छ। यस्तै, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितलाई पनि नयाँ पोशाक दिने उनले उल्लेख गरे ।
१५ असोज २०७९, शनिवार ०९:११ बजे प्रकाशित






























