जिप दुर्घटनामा दुई जना घाइते
ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना यात्रु घाइते भएका छन् । सिदिङ्वा गाउँपालिका–४ साब्लाखुको रातमाटे खण्डमा शनिबार साँझ मे१ज २०७४ नम्बरको जिप दुर्घटना हुँदा एक महिलासहित दुई जना यात्रु घाइते भएका हुन् ।
प्रहरी चौकी साब्लाखुका अनुसार सिदिङ्वा गाउँपालिका–५ लिम्बु दिनकी २२ वर्षीया सीता इधिङ्गो र एकजना अन्दाजी ६५ वर्षीय वृद्ध घाइते हुनुभएको छ । घाइते वृद्धको भने नाम र ठेगाना खुलिनसकेको प्रहरी चौकीका हवल्दार अमृत दमाईले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुवै जनाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
झापाको दमकदेखि साब्लाखु भन्ज्याङतर्फ जाँदै गरेको जिप ब्रेक फेल भई दुर्घटना भएको प्रहरी चौकी साब्लाखुले जनाएको छ । प्रहरीका अनुसार नौ जना यात्रु सवार रहेको जिप दुर्घटनामा चालकसहित सात जना सकुशल रहेका छन् ।
२६ भदौ २०७९, आइतवार १०:३६ बजे प्रकाशित













