दार्चुलामा बाढीपहिरो: प्रदेश सरकारद्धारा मृतक परिवारलाई जनही एक लाख दिइने
दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिइने भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा।रणबहादुर रावलले आज प्रदेश सरकारका तर्फबाट मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
शनिवार बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली दार्चुला पुगेको हो । राहत बितरणका लागि दार्चुला पुगेका उनले तत्काल प्रदेश सरकारको तर्फबाट मृतकका परिवारलाई एक लाख रुपैँया दिइने घोषणा गरेका हुन् ।
उनले बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि पनि जनही ५० हजार रुपैयाँ सहयोग उपब्लध गराउने बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। अझै १० जना बेपत्ता छन्।
२५ भदौ २०७९, शनिवार २०:३७ बजे प्रकाशित












