बार्सिलोनाको शानदार जितमा लेवान्डोस्कीको दुई गोल

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । बार्सिलोनाले रियल सोसिडाडलाई ४–१ गोलले पराजित गरेको हो । रियल सोसिडाडलाई पराजित गर्न बार्सिलोनाका रोर्बट लेवान्डोस्कीले दुई गोल गरे ।

त्यस्तै, औसमाने डेम्बेले र अन्सु फातीले १–१ एक गोल गरे । रियल सोसिडाडका लागि एलेक्सान्डर इसाकले एक गोल फर्काए । बार्सिलोनाका लागि पहिलो मिनेटमा नै लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाए ।

छैटौँ मिनेटमा इसाकले गोल गर्दै खेलमा रियल सोसिडाडलाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्दै फराकिलो जित निकालेको हो ।

६६औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए । ६८औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको अग्रता दिलाए ।

खेलको ७९औँ मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ४–१ गोलको जित दिलाएका हुन् । जारी सिजनमा बार्सिलोनाको यो पहिलो जित हो । यसअघि बार्सिलोनाले आफ्नो पहिलो खेलमा रायो भालेकानोसँग गोलरहित बराबरीमा खेलेको थियो । ला लिगाकै अर्को खेलमा भिल्लारियलले एट्लेटिको मड्रिडलाई २–० ले हराएको छ ।


६ भदौ २०७९, सोमवार ०८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु