ओढारमा बाजुराकी जलुदेवी
बाजुराको खप्तड छेडेदह गाउँपालिका १ लुगेनाकी एक महिला ओढारमा बस्दै आएकी छिन् । लुगेना १ घर भएकी करिव ५२ वर्षीया जलुदेवी बुढा अहिले एक छोरासहित दुई वर्षदेखि ओडारमा बस्दै आएकी छन् ।
भाने बुढाले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि जलुदेवीसँग बिहे गरेका थिए । जलुदेवीका तीन छोरा छन् । जेठा छोरा कमाउन भारत गएका छन् । १४ वर्षीय माइला छोरा बुवासँग घरमै बस्दै आएका छन् । ९ वर्षीय कान्छा छोरा मीन जलुदेवीसँग ओढारमा बस्दै आएका छन् ।
अहिले जलुदेवीले पानी घट्टबाट संकलन गरेर ल्याएको पिठोको खोले पकाएर आफू र छोराको पेट भरेर गुजारा गर्दै आएकी छन् । खानेकुरा र लत्ताकपडाको समेत उनीसँग अभाव छ । उनलाई ओढारमा बस्दा जङ्गली जनावरको पनि डर त्यत्तिकै रहेको छ ।
श्रीमानले घर लैजान खोज्दा पनि ती महिला घर गएकी छैनन् । घरभन्दा ओढार करिव ४०–५० मिटर मात्रै टाढा छ । जेठी श्रीमतीसँग मिल्ती नभएको र आफूसँग कहिलेकाँही झगडा पर्ने हुँदा उनी घर नगएको उनका श्रीमान भानेले बताएका छन् ।
भाने बुढाले घरमा मिलाएर राख्नै नसकेपछि कान्छी श्रीमती जलुदेवीका लागि अलग्गै घर बनाइ दिएका थिए । तर, उनी त्यो घरमा आगो लगाएर ओढारमै बसेकी हुन् । उनको मानसिक अवस्था सामान्य नभएको हुँदा उनलाई घर लैजानै मुस्किल हुने गरेको भाने बुढा बताउँछन् ।
यसरी जलुदेवी ओढारमा बस्दै आएको खबर गाउँपालिकाले पाएपछि अहिले उनलाई घर ल्याउने प्रयास भएको छ । शुक्रबार प्रहरी र जनप्रतिनिधिसहितको टोली त्यहाँ पुगेर उनलाई घर ल्याउने प्रयास गरे पनि उनले नमानेको बताइएको छ ।
खप्तड छेडेदह गाउँपालिकाले जलुदेवीको उद्धारका लागि कोसिस गरेको भए पनि सुरुमा उनी मानेकी थिइनन् । तर, प्रहरी र जनप्रतिनिधिसहितको टोलीले उनलाई सम्झाएपछि उनी वडा कार्यालयमा जान तयार भएकी छन् । खप्तड छेडेदह गाउँपालिकाले जलुदेवी र बच्चाको सुरक्षाको जिम्मा लिने बताएको छ ।
खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर रावलले जलुदेवीलाई गाउँपालिकाले सहयोग गर्ने बताएका छन् । ओढारमा जंगली जनावरका साथै अन्य कुराको पनि असुरक्षा नहुने हुँदा उनलाई गाउँपालिकाले नै सहयोग गर्ने उनले बताएका छन् ।
वडा अध्यक्ष रावलका अनुसार भाने र जलुदेवीको दैनिक जस्तो झगडा पर्ने गरेपछि उनी ओढारमा बस्दै आएकी हुन् । ‘दुवैजनाको झगडा पर्दै गएपछि जलु ओडारमा बस्दै आएकी हुन्, उनको मानसिक अवस्था पनि खासै ठिक छैन्,’ वडा अध्यक्ष रावलले भने । गाउँपालिकाले अबदेखि जलुको औषधि, खाना र बस्नको ब्यवस्था मिलाउने वडा अध्यक्ष रावलले बताए ।
२७ साउन २०७९, शुक्रवार २०:१५ बजे प्रकाशित













