ओली र चिनियाँ नेताबीच भेटवार्ता

चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख लिउ जियान्चाओले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

चिनियाँ नेता लिउ नेतृत्वको प्रतिनिधिमण्डलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार बिहान ओलीनिवास बालकोटमा भेटवार्ता गरेको हो। असार १० गते भिडियो संवाद भएको दश दिनपछि ओली र चिनियाँ नेता लिउबीच भेटवार्ता भएको हो । भेटवार्ता अहिले पनि बालकोटमा जारी छ ।

चिनियाँ नेता लिउ र एमाले अध्यक्ष ओलीबीच १० असारमा भएको भिडियो संवादमा चिनियाँ पार्टीसँग एमाले र माओवादीको भाइचारा सम्बन्ध नवीकरण गर्ने समझदारीपत्र आदानप्रदान भएको छ । ओलीले नेता लिउ नेतृत्वको प्रतिनिधिमण्डललाई आज दिवाभोज दिने कार्यक्रम छ ।

हिजो माओवादी अध्यक्ष प्रचण्डले चिनियाँ प्रतिनिधिमण्डलका लागि रात्रिभोज आयोजना गरेका थिए । आइतबार चिनियाँ नेताहरूलाई कांग्रेसले पार्टीका तर्फबाट रात्रिभोज दिएको थियो ।

चिनियाँ पूर्वकूटनीतिज्ञ लिउले १८ जेठदेखि पार्टी अन्तर्राष्ट्रिय विभाग समन्वय प्रमखको जिम्मेवारी लिएपछि पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका छन् । उनले पहिलो भेट कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेका थिए । लिउअघि पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागको नेतृत्वमा चिनियाँ अनुभवी कूटनीतिज्ञ सोङ ताओ थिए ।

यसैगरी, आजै अपराह्न चिनियाँ नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।


२८ असार २०७९, मंगलवार ११:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु