नगरप्रमुख शाहीको पहिलो निर्णय: छोरी जन्मिएको परिवारलाई प्रोत्साहन भत्ता दिइने

कैलालीको लम्कीचुहा नगरपालिकाकी नवनिर्वाचित नगरप्रमुख सुशीला शाहीले कार्यभार सम्हालेकी छन् । कार्यभार सम्हालेसँगै उनले पहिलो बैठकबाट तीनवटा निर्णय गरेकी छन् ।

जसमा पहिलो भूमिहीन, सुकुम्बासी, दलित, मुक्तकमैया तथा अव्यवस्थित बसोबास गरेकाहरुलाई आर्थिक वर्ष ०७९/८० भित्र जग्गाधनी लालपुर्जा वितरण गर्ने रहेको छ ।

त्यसैगरी ‘हाम्रो मेयर हाम्री छोरी’ कार्यक्रम अन्तर्गत लम्कीचुहा नगरपालिकामा बसोबास गर्ने घरपरिवारमा छोरीको जन्म भएमा प्रोत्साहन स्वरुप नगद दुई हजार रुपैयाँ प्रदान गरिने र लम्कीचुहा नगरपालिका क्षेत्रअन्तर्गतका पूर्वपश्चिम राजमार्गको चोकमा सिसिटिभीसहितको टावरबत्ती जडान गरिने रहेको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार बनेकी शाही कैलालीकै पहिलो महिला प्रमुख हुन् । निवर्तमान मेयर महादेव बजगाईंंलाई २ हजार २७८ मतले पराजित गरेकी शाहीले १२ हजार ७१३ मत प्राप्त गरेकी छन् भने मेयरमा पराजित बजगाईंले १० हजार ४३५ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी जुना चौधरी विजयी भएकी छन् । उनले १० हजार ७०८ मत पाएकी छन् । उनले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी जानकी सिंहलाई पराजित गरेकी हुन् । सिंहले ८ हजार ३०८ मत पाएकी थिइन् ।

 


९ जेठ २०७९, सोमवार २२:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु