विराटनगरमा एक प्रहरी जवान मृत फेला
विराटनगरमा निलम्बित एक प्रहरी जवान मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार महानगरपालिका–५ का २६ वर्षीय प्रहरी जवान जितविक्रम दाहाल मृत फेला परेका हुन्।
आइतबार बिहान दाहाल घरअगाडिको भोगटेको रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
पछिल्लो समय दाहाल सुनसरीको शुक्रबारे प्रहरी चौकीमा कार्यरत थिए। दाहाललाई महिला बलात्कारको प्रयास आरोपमा सुनसरी प्रहरीले जबर्जस्ती करणी उद्योगको मुद्दा चलाएको थियो। पुसमा प्रहरीले दाहाललाई निलम्बनसमेत गरेको थियो।
अदालतबाट धरौटीमा छुटेपछि उनी विराटनगरस्थित घरमै रहँदै आएका थिए। सो घटनापछि दाहालले मानसिक रोगको औषधि सेवन गर्दै आएको खुलेको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।
२० चैत २०७८, आइतवार १८:२३ बजे प्रकाशित













