४२७ जनाको रगत परीक्षण गर्दा ३५ जनामा सिकलसेल एनिमियाको ट्रेट फेला
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ नौखरीमा ४२७ जनाको रगत परीक्षण गर्दा ३५ जनामा सिकलसेल एनिमियाको ट्रेट (बाहक) फेला परेका छन्। चार महिनाअघि वडा नम्बर ३ मा गरिएको परीक्षणमा १७ जनामा ट्रेट फेला परेको थियो।
नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सिकलसेल एनिमिया र थाल्सेमिया पहिचान तथा निदान शिविरमा निःशुल्क परीक्षण गरिएको थियो। बाहक फेला परेका व्यक्तिहरूको रगतलाई पुनः परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाइएको छ। सिकलसेल एनिमिया भए नभएबारे सात दिनभित्र नतिजा आउने स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत हरि नाथले बताए।
‘सिकलसेल एनिमियाको अर्ध दोषयुक्त जीनलाई हेटेरोगेस ट्रेट भन्ने गरिन्छ‚’ उनले भने, ‘सिकलसेल एनियमयाको अर्ध दोषयुक्त गुण बोकेको व्यक्तिमा सिकलसेल एनिमियाका लक्षणहरू देखा पर्दैनन्।’
सिकलसेल ऐनिमिया विशेष गरी राना र चौधरी थारू समुदायका व्यक्तिमा देखिने जटिल रोगका रूपमा रहेको छ। सिनियर अहेब अधिकृत नाथका अनुसार सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो। यसले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ।
सिकलसेल भएका व्यक्तिमा शरीरका विभिन्न अंगहरूमा अक्सिजनसहितको रातो रक्तकोष पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्कलगायतका अंगहरूमा क्षति पुर्याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पुर्याउने गर्दछ।
श्रीमान र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पीडित भएमा उनीहरूका सन्तानमा समेत सिकलसेल एनिमिया हुने सम्भावना प्रवल हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ। सिकलसेल रोग वंशानुगत रोग भएकाले परिवारमा यस्तो रोगबाट पीडित व्यक्ति भएमा रगत परीक्षण गरेर मात्रै विवाह गर्ने उमेर पुगेका युवाहरूले विवाह गर्दा उपयुक्त हुने जानकारहरू बताउँछन्।
८ चैत २०७८, मंगलवार ०८:५८ बजे प्रकाशित































