१८ महिने बालिकाको बलात्कारपछि हत्या : दुई जना पक्राउ
मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।
आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको हो। पक्राउ परेका दुबै जनाले ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी गराए।
प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए। उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।
गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।
शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो।
२९ फागुन २०७८, आइतवार १५:५७ बजे प्रकाशित












