संखुवासभा बस दुर्घटना : मृत्य हुनेको संख्या १५ पुग्यो

मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । उपचारका लागि हेलिकोप्टरबाट धरान लगिएकी मादी नगरपालिका–५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीका अनुसार मृतक सबै पहिचान खुलेको छ ।

उनले दुर्घटनामा परी गम्भीर घाइते भएकी युका पोखरेलको उपचारका क्रममा धरानमा मृत्यु भएको बताए । उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

मृत्यु हुनेमा मादीकी सीता विक, अञ्जना कटुवाल, भवानीप्रसाद दाहाल, इन्द्र अधिकारी, दिक्षा कटुवाल, बलबहादुर कार्की, सबिता कार्की, दिपककुमार दाहाल रहेका छन् । त्यस्तै, ताप्लेजुङकी समीक्षा योञ्जन, उनका छोरा सुदिप घिसिङ, मादीका श्याम शेर्पा, आइतबहादुर तामाङ, तेह्रथुमका चालक विपिन निरौला र मादीका सहचालक उमेश भट्टराईको मृत्यु भएको डिएसपी सुवेदीले बताए ।

अन्य घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा बिहीबार बिहान साढे ७ बजे दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । बसमा १९ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।


२६ फागुन २०७८, बिहीवार १५:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु