क्रिप्टो करेन्सी कारोबारको आरोपमा कैलालीका एकै परिवारका चार जनाविरुद्ध मुद्दा दायर
३७ करोड ६४ लाख बढी बिगो दाबी
क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा राजश्व अनुसन्धान विभागले कैलालीका एकै परिवारका चारजनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले कैलालीको लम्किचुवा स्थायी घर भएका दिनेश खड्का, उनकी दिदी भगवती, बुबा नरबहादुर र साथी अनिता धितालविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रूपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
विभागका अनुसार दिनेशले आफू र परिवारका सदस्यको नाममा क्रिप्टो करेन्सीको कारोबार गरेका थिए । दिनेशले आफ्नो बैंक अकाउन्टबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको कारोबार गरेको दाबी गरिएको छ ।
यसैगरी भगवतीको बैंक खाताबाट २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपैयाँ कारोबार भएको विभागको दाबी छ ।
नरबहादुरको बैंक खाताबाट एक करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ र अनिताको बखाताबाट ५ करोड ७७ लाख ६ हजार ८६ रुपैयाँको कारोबार भएको विभागले जनाएको छ ।
विभागका अनुसार क्रिप्टो करेन्सीको कारोबार ई–स्कील, बाइनान्स नामक मोबाइल एप्लिकेसनबाट भएको हो ।
११ माघ २०७८, मंगलवार १६:४२ बजे प्रकाशित













