कोभिडका कारण राष्ट्रिय सभा निर्वाचन प्रभावित हुँदैन : आयोग
कोभिड–१९ ले उत्पन्न परिस्थितिले राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपने निर्वाचन आयोगले जनाएको छ। आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने जानकारी दिएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभाको मतदानका लागि मतदाता संख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने बताएका हुन्।
आवश्यक परे आयोगको प्रदेशस्थित कार्यालय र निर्वाचन अधिकृतले स्वास्थ्य मापदण्डबारे स्थानीयस्तरको कोभिड व्यवस्थापन संयन्त्रसँग सहयोग र सुुझाव लिने प्रवक्ता पौडेलले बताए। ‘मतदाताको भीड व्यवस्थित बनाउन आयोगले निर्णय गरे मतदान केन्द्र थप्न सकिनेछ,’ प्रवक्ता पौडेलले भने।
आयोगले हाल आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदानस्थलमा दुुई–दुुईवटा मतदान केन्द्र रहनेछन्। सातवटै प्रदेशका आठ मतदानस्थलमा १४ मतदान केन्द्र तोकिएका छन्।
राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ। सातवटै प्रदेशमा कुल दुुई हजार २५ जना मतदाता छन्।प्रवक्ता पौडेलका अनुसार राष्ट्रिय सभा सदस्यको मतदान, स्थानीय तहको निर्वाचनलगायतबारे छलफल गर्न शुक्रबार सर्वदलीय बैठकसमेत बोलाइएको छ।
२९ पुस २०७८, बिहीवार ०९:४६ बजे प्रकाशित












