एमाले कैलालीः युवाको प्रतिनिधित्व गरेका कुँवरलाई सर्वाधिक मत
नेकपा एमाले कैलालीको पदाधिकारी तथा सदस्यहरूको मतगणना सकिएको छ । ५ पदाधिकारी सहित १५० सदस्यहरूको मतगणना गएराति सम्पन्न भएको छ ।खुल्ला तर्फको सदस्य र विभिन्न कलस्टरका सदस्यहरूको मतगणनामा सबैभन्दा धेरै मत अरुण कुँवरले ल्याएका छन् ।
उनले ३४० मत ल्याएका हुन् । ५८९ मत मध्ये दुवै टिममा परेका कुँवरले सर्वाधिक मत पाएका हुन् । २१ पदका लागि खुल्ला सदस्यमा ४६ जना बिच प्रतिस्पर्धा भएको थियो । धेरै जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुँवरले करिब ५८ प्रतिशत मत पाएका हुन् ।
‘मलाई विश्वास गरेर दुवै टिमका प्रतिनिधीहरुले मत दिनु भयो’ विजयी भएपछि कुँवरले भने ‘अब एमाले कैलालीलाई बलियो र सुदृढ गर्न तर्फ लाग्छु ।’सदस्य पदमा दोस्रो नम्बरमा सर्वाधिक मत ल्याउने उम्मेदवारभन्दा कुँवरले करिब १ सय मत बढी ल्याएका छन् । दलित महिला तर्फ दीपा नेपालीले सबै भन्दा धरै मत पाइन् । उनले ३३८ मत पाइन् ।
जनजाति तर्फ सबै भन्दा धेरै मत ल्याएका मनोज राईले २४२ मत पाएका छन् । उनीहरू तीनै जना युवा हुन् ।खुल्ला तर्फको सदस्य र अन्य कलस्टर बाहेकका पदहरूको मत गणना यस अघि नै सम्पन्न भइसकेको छ ।
कैलालीमा नव निर्वाचित पदाधिकारीहरूलाई आज शपथग्रहण गराउने कार्यक्रम तय भएको छ ।एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उनीहरूलाई सपथ ग्रहण गराउनेछन् ।
२९ पुस २०७८, बिहीवार ०९:४४ बजे प्रकाशित












