पश्चिम सेती र फाष्ट ट्रयाक निर्माणमा जोड दिनुपर्छ : महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पश्चिम सेती र फाष्ट ट्रयाकका कुरालाई अगाडि बढाउन जोड गरिने बताएका छन् । राष्ट्रिय योजना आयोगसंगको टोलीसहित सुदूरपश्चिमका नौ वटै जिल्लाको भ्रमण गरि सोमबार मात्रै गृह जिल्ला डडेल्धुरा पुगेका नेता महरले सुदूरपश्चिमको विकासका लागि विशेष गरेर पश्चिम सेती र फाष्ट ट्रयाकको योजनालाई अगाडि बढाउन जोड दिइने बताएका हुन् ।

उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पश्चिम सेती आयोजनाको निर्माण प्रक्रियालाई विशेष चाँसो दिन निर्देशनसमेत दिएको नेता महले बताए । राष्ट्रिय योजना आयोगसँगको परामर्शमा नेपाली कांग्रेसले देशभर विकासका आयोजनाहरुको खाका तयार पार्ने उनले बताए । युग सुहाउँदो विकासका योजना सञ्चांलनमा ल्याइने उनको भनाई छ ।

महत्वपूर्ण विकास निर्माणका लागि योजना आयोगसम्म पुगेका निवेदनको खाका तयार पारि प्राथमिकताका आधारमा कार्यान्वयन गरिने उनले बताए । सबै योजनाहरु आयोगसँगको परामर्शमा क्रमशः प्राथमिकताका आधारमा अगाडि बढाइने समेत उनले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसहित सातादेखि सुदूरपश्चिम भ्रमणमा रहेका कांग्रेस नेता महरले प्रधानमन्त्री शेरवहादुर देउवाको निर्देशन र संयोजनमा विकासका लागि स्थलगत भ्रमण गरि अध्ययन थालिएको बताएका छन् । बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष डा. पौडेलले आफूहरु विकास निर्माणका योजना संकलनकै लागि सुदूरपश्चिम पुगेको बताएका छन् ।

डडेल्धुरा प्राकृतिक रुपमा सुन्दर रहेकाले त्यसमा थप आधुनिक विकास गरेर सौन्दर्यता झल्काउने विश्वास उनले दिलाएका छन् । सुदूरपश्चिमको गरिबी हटाउन पश्चिम सेती परियोजना, सिँचाइ, विद्युतिकरण, खानेपानी र ग्रामीण सडकलाई प्राथमिकतामा राखिने योजना आयोगका उपाध्यक्ष डा पौडेलले बताएका छन् । साथै उनले सुदूरपश्चिमका सञ्चार गृह तथा सूचना प्रणालीका लागि पनि महत्त्वपूर्ण योजनाहरुलाई अगाडि बढाइने बताए ।


१९ पुस २०७८, सोमवार २१:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु