विपद व्यवस्थापनमा धनगढी उपमहानगरको मनपरी खर्च
धनगढी उपमहानगरपालिकाले विपद व्यवस्थापन कोषको बजेटबाट २०७८ साउनसम्म १ करोड १९ लाख ५४ हजार १४० रुपैयाँ खर्च गरेको छ। सोही अवधिसम्म विपद व्यवस्थापन कोषबाटै थप ७३ लाख ७२ हजार ५१६ रुपैयाँ खर्च गरेको देखिएको छ
उपमहानगरपालिकाले गेटा मेडिकल कलेजमा आइसोलेसन सेन्टरको नाममा २४ लाख ६३ हजार २१३ रुपैयाँ पनि खर्च भएको देखाएको छ। तर ज्यान जोखिममा राखेर महामारी व्यवस्थापनमा खटिएका श्रमिकले भने अझै काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन्।
अहिलेसम्म कहिकतैबाट काम गरेको पैसा नपाएको गेटाको आइसोलेसनमा काम गरेका तीलक भण्डारीले गुनासो गरे। उनले थपे, ‘काम गरेको पारिश्रमिकसँगै थप ५० प्रतिशत रकम जोखिम भत्ताबापत दिने भनिएको थियो, तर अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनौँ।
विपद व्यवस्थापन कोषको बजेटबाट उपमहानगरपालिकाले एक वर्षको अवधिमा १ करोड ९३ लाख २६ हजार ६५६ रुपैयाँ खर्च गरेको देखिएको छ। तर विपद व्यवस्थापनको नाममा भएको खर्चको उपयोगिता नै नभएको नगरवासीको गुनासो छ। उपमहानगरपालिकाले अक्सिजन प्लान्ट खरिद तथा सञ्चालनका लागि भन्दै जनस्तरबाट झण्डै ८६ लाख रुपैयाँ संकलन गरेको थियो। संकलित रकममध्ये ४९ लाख ९५ हजार खर्च भएको देखाइए पनि अक्सिजन प्लान्ट उपयोगविहीन अवस्थामा छ।
खर्च भएको रकमसमेत उपयोगविहीन देखिएको अवस्थामा उल्टै उपमहानगरपालिकाले महामारीमा खटिएका श्रमिकलाई काम गरेको पारिश्रमिक भुक्तानी गरिसकेको दाबी गर्दै आएको छ। उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख लेखनाथ ओझाले सबै श्रमिकको पारिश्रमिक दिइसकेको दाबी गरेका छन्। ‘१९र२० जना श्रमिकले महामारीका बेला गरेको श्रमबापतको भुक्तानी गरिसकिएको छ, यो विषयमा कुनै शंका गर्नु पर्दैन ।
धनगढी उपमहानगरपालिकाको विपद व्यवस्थापन कोषमा २८ लाख २१ हजार ४८८ रुपैयाँ मात्र मौज्दात छ। बाँकी सबै रकम खर्च भइसक्दा पनि खर्चको उपयोगिता नभएको नगरवासीको गुनासो छ। उपमहानगरपालिकाले खर्चको स्रोत समेत नखुलाएर ४ लाख ९२ हजार ८२५ रुपैयाँ खर्च गरेको देखिएको छ। आन्तरिक आयको स्रोत कमजोर बन्दै गइरहेका बेला उपमहानगरपालिकाले विपद व्यवस्थापनको नाममा खर्चको उपयोगिता नै नदेखिने गरी रकम खर्च गर्दै आएको हो।
१९ पुस २०७८, सोमवार १२:२० बजे प्रकाशित













