सुदूरपश्चिममा ‘ठूलीरात’ मनाइँदै
सुदूरपश्चिममा आज ठूलीरात तथा पुसे १५ का रूपमा धुमधामसँग मनाइँदै छ।आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठो मिठो खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताए।
उनले भने, ‘रातभरी दन्त्यकथा, भाषामा आइना, बातै ९कहानी० सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ।’पन्नरी रातका रूपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका परिकार खाने गर्छन्।
तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ। तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै कुन्क्यौलो (वनभोज) खाने गरिन्छ।
पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीर समेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत पण्डित दयाकृष्ण पन्तको भनाइ छ।
एक दिन भए पनि आज घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘कुन्क्यौलो’ जाने र मीठामीठा खानेकुरा खाने चलन छ।
पर्वमा विवाहित छोरीबेटीलाई पनि घरमा आमन्त्रण गरी भव्य रूपमा स्वागत सत्कार गरिन्छ। विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्त्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ।
पुस ६ गतेलाई उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन भनिए पनि सुदूर पश्चिमी समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ। भारतमा पुस १५ लाई लोहरी पर्वका रूपमा मनाइने गरिएको छ।
१५ पुस २०७८, बिहीवार १७:१९ बजे प्रकाशित













